काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजारमा दोहोरो अंकको पहिरो गएको छ । 

कमजोर बनेको लगानीकर्ताको मनोबल सुधारका लागि कुनै पनि सकारात्मक परिवर्तन नहुँदा बजारमा लगातार गिरावटको क्रम जारी भएको हो । अघिल्लो साता समेत गिरावटको मार व्यहोरेको बजारको यो साताको ओपनिङ पनि निकै खराब र निराशाजनक रह्यो । 

आइतबार नेप्से परिसूचक १७.८७ अंकको पहिरोसहित ११४० को विन्दूमा सीमित बन्न पुगेको छ । नेप्से ११०० विन्दूतर्फ उन्मुख भइरहँदा कारोबार रकममा पनि कमी भएको छ । बजारको यस्तो प्रवृति सुखद भविष्यका लागि अशुभ संकेत मानिने विश्लेषकहरु बताउँछन् । 

लगातार घटिरहेको बजारमा धेरै कम्पनीको सेयर मूल्यमा समेत पहिरो गइरहेको छ । यसकारण लगानीकर्ताहरुमा मार्जिन कलको आतंक छाएको छ । लगानीकर्ताहरु धेरै घाटा सहनुभन्दा घाटामै भए पनि सेयर बेचेर मार्जिन कलको आतंकलाई कम गर्न चाहन्छन् भन्ने प्रवृति देखिएको छ । 

यस्तै, भारित औसत लागत विधिको आधारमा पूँजीगत लाभकर गणना समेत अवैज्ञानिक रहेको र यसले बजारमा नजानिँदो हिसाबले निकै ठूलो नकारात्मक प्रभाव पारिरहेको जानकार बताउँछन् । 

अर्कोतर्फ पूँजीगत लाभकर गणना अटोमेटिक हुने प्रणाली अझै पनि लगानीकर्ताका लागि लाइभ हुन सकेको छैन । अझै परीक्षणमै रहेको यो सिस्टम यो साताभित्रमा पूर्ण लाइभ हुने बताइए पनि लगानीकर्ता यसप्रति विश्वस्त हुन सकिरहेका छैनन् । 

यस्तै, पछिल्लो समय सेयर बजारमा कालोधन वा सम्पत्ति शुद्धिकरणको त्रास पनि सुनियोजित रुपमै फैलाइएको छ । २५ लाख भन्दा बढीको सेयरको लगानी निगरानीमा पर्ने जस्ता खबरहरुले समेत त्रास सिर्जना गरेको बताइन्छ । 

पछिल्लो समय बजारमा प्रवेश गरेका लगानीकर्ताहरु आफ्नै विश्लेषण र अध्ययनपछि भन्दा पनि लहै लहैमा लागेर आउनेहरु रहेका जानकार बताउँछन् । थोरै लगानीकर्ता मात्रै स्वअध्ययनर विश्लेषणपछि मात्र लगानीको निर्णय लिने खालका छन् । अरुको लहै लहैमा लागेर भए भरको पैसा सेयरमा लगानी गर्नेहरु लगातार बजार घटेपछि अत्तालिएर सेयर बिक्री गरिरहेका र यसले समेत बजारमा नकारात्मक प्रभाव पारिरहेको पुराना र अनुभवी लगानीकर्ता दाबी गर्छन् । 

यस्तै, ठूला लगानीकर्ताहरु पछिल्लो समय सेयर बजारबाट धमाधम बाहिरी रहेका छन् । दोश्रो बजारको रिटर्न न्यून देखिएपछि यहाँभन्दा बढी र सुरक्षित रिटर्न आउने क्षेत्रमा लगानी डाइभर्ट हुँदा समेत यसले बजार प्रभावित गरिरहेको विश्लेषक बताउँछन् । 

ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुबीच नै बजार ११०० मुनि आउने चर्चाले समेत धेरैमा मानसिक रुपमा आतंक सिर्जना गरिरहेको छ । 

नआउनसक्छ यति राम्रो अवसर
बजार लगातार घटिरहेर न्यून विन्दूमा पुगिसकेको छ । ११०० विन्दूतर्फ झरिरहेको बजारमा धेरै राम्रा कम्पनीको सेयरको मूल्य निकै न्यून विन्दूमा पुगिसकेको छ । लामो अवधिका लागि सेयर बजारमा लगानी गर्नेहरुका लागि बजार प्रवेशको यो भन्दा राम्रो अवसर फेरि आउन नसक्ने कतिपयको तर्क छ । 

यति बेला लगानी गरिरहेकाहरुसँग लगानीयोग्य रकमको अभाव छ भने त्रास र हौवाका कारण सेयरमा लगानी गर्न चाहने समेत प्रवेश गर्न हिचकिचाइरहेका छन् । यसले समेत बजारमा मन्दी बढाउन सहयोग गरेको जानकार बताउँछन् । 

बजार निरन्तर घटिरहेकै समय प्रवेश गर्ने र राम्रा स्क्रिप्टलाई सस्तो मूल्यमै पोल्टामा पार्ने सुवर्ण अवसर पनि हो । यो कुरालाई बुझ्नेहरुले यही बेला सेयर किन्नुपर्ने र यस्तो बेलामा सेयर बजारमा प्रवेश गरेकाहरुले नै भविष्यमा अकल्पनीय रुपमा कमाउनसक्ने जानकारहरु बताउँछन् । 

के-के भयो आइतबार ?
यो दिन राम्रा र बलिया कम्पनीको सेयरमा उच्च बिक्री चाप देखिएको छ । जसका कारण सेन्सेटिभ इण्डेक्स ३.७९ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.३३ अंकले घटेको छ । 

सबै उपसमूहको सूचकमा रातो पोतिएको छ । बैंकिङ समूह १९.६९ अंकले घटेको छ भने विकास बैंक समूह १५.२९ अंक, बित्त समूह ४.८९ अंक, माइक्रोफाइनान्स समूह १९.४६ अंक, होटल समूह २४.२४ अंक, जलविद्यृुत समूह १६.४७ अंकले घटेका छन्। 

जीवन बिमा समूह ६६.०८ अंकले घटेको छ भने निर्जीवन बिमा समूहमा ५८.२५ अंक, उत्पादन तथा प्रशोधन समुहमा २७.९३ अंक, म्युचुअल फण्ड समूह ०.०८ अंक र अन्य समूह ४.९४ अंकको गिरावट आएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६२ कम्पनीका १० लाख ९० हजार २१८ वटा सेयर २८ करोड ८० लाख ९९ हजार ९१२ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ८२ लाख, नेपाल बैंकले १ करोड ७४ लाख, सानिमा बैंकले १ करोड १५ लाख, लक्ष्मी बैंकले ९९ लाख, शिवम सिमेन्टले ९३ लाख, मेगा बैंकले ९० लाख, रसुवागढी जलविद्युत कम्पनीले ८८ लाख, एनआइसी एशियाले ८७ लाख, कृषि विकास बैंकले ७७ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६९ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा रिलायन्स फाइनान्सका लगानीकर्ताले धेरै कमाएका छन् । यो कम्पनीको सेयर मूल्य ३.५१ प्रतिशतले बढेको छ । 

गणपति माइक्रोफाइनान्सकालगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको मूल्य ८.३८ प्रतिशतले घटेको छ ।