काठमाण्डौ । खिम्ती जलविद्युत आयोजना हस्तान्तरणमा ढिलाइ भएको पाइएको छ। 

महालपरीक्षकको कार्यालय हालै सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो।

वैदेशिक लगानीमा बनेको यो आयोजनाबाट ६० मेगावाट विद्युत उत्पादन गर्ने गरी २०५१ मंसिर २९ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको थियो। सम्झौताअनुसार उत्पादन सुरु भएको २० वर्षपछि रु. १ मूल्यमा ५० प्रतिशत स्वामित्व नेपाल विद्युत प्राधिकरणको हुने उल्लेख छ। तर कम्पनीले २०५७ असारदेखि व्यापारिक उत्पादन सुरु गरेको २०७७ असारमा ५० प्रतिशत स्वामित्व विद्युत प्राधिकरणमा प्राप्त गर्नुपर्नेमा सो हुन नसकेको प्रतिवेदनमा ठहर गरिएको छ। 

आयोजनाको ५० प्रतिशत स्वामित्व हस्तान्तरणका लागि प्राधिकरण र प्रवर्द्धक कम्पनी दुवैको स्वामित्व रहने गरी छुट्टै कम्पनी स्थापना गर्नुपर्ने सम्झौता भएको थियो। छुट्टै कम्पनीको स्थापना पनि हुन नसकेको प्रतिवेदनमा जनाइएको छ। 

नयाँ कम्पनी स्थापनापछि पुनः विद्युत बिक्रीका लागि विद्युत खरिद सम्झौता गर्नुपर्नेजस्ता प्रक्रिया पूरा नभएको कारण देखाई स्वामित्व हस्तान्तरणमा ढिलाइ गरेको पाइएको महालेखापरीक्षकको ठहर छ। यसबाट प्राधिकरणलाई प्राप्त हुने आयमा असर नपर्ने व्यवस्था हुनुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ। 

यो आयोजनाको प्रवर्द्धक कम्पनीमा हिमाल लिमिटेड रहेको छ भने आयोजना लगानीकर्ता नर्वेली कम्पनी रहेको छ।