काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विन नेपाल लघुवित्त वित्तीय संस्थामाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गरेको छ। 

नेप्सेले बुक क्लोजको मितिलाई लिएर विन नेपाल लघुवित्तमाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गरेको हो। 

विन नेपाल लघुवित्तको वैशाख २९ गते बसेको सञ्चालक समिति आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित लाभांशमा संशोधन गर्दै यही जेठ २० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको थियो। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले जेठ ३ गतेदेखि जेठ २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

सञ्चालक समितिको यिनै निर्णयबारे संस्थाले वैशाख ३० गते पत्र पठाउँदै नेप्सेलाई जानकारी गराएको थियो। तर धितोपत्र सूचीकरण विनियमावली, २०७५ को धितोपत्र सूचीकरणसम्बन्धी सम्झौतापत्रको बुँदा १० मा भएको व्यवस्थामा संगठित संस्थाले बुक क्लोज गर्नुपर्ने भएमा सोको कारण तथा बन्द रहने अवधिसहितको जानकारी कम्तीमा ७ दिन अगाडि नै नेप्सेलाई पठाउनुपर्ने हुन्छ। 

विन नेपाल लघुवित्तले यही व्यवस्थाको उल्लंघन गरेकोले सेयर कारोबार रोक्का राखी यसबारे चुत्ताबुझ्दो स्पष्टीकरण अब तीन दिनभित्र नेप्सेमा पठाउन पनि नेप्सेले निर्देशन दिएको छ।