– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ इन्डेक्स ‘नेप्से–३०’ सञ्चालनमा ल्याउने प्रक्रिया तीव्रगतिमा अगाडि बढाएको छ। 

हाल नेप्से–३० इन्डेक्सको नेप्सेको लाइभ मार्केटमा कनेक्ट गरेर परीक्षण गर्ने काम भइरहेको छ। यसअघि लाइभ मार्केटमा कनेक्ट नगरी नेप्से–३०को अन्तिक परीक्षण गरिएको थियो। जुन सफल भएपछि गत सोमबारदेखि नेप्से–३० इन्डेक्स नेप्सेको लाइभ मार्केटमा कनेक्टर गरेर परीक्षण भइरहेको छ।

यो परीक्षण सफल भएमा नेप्से–३० इन्डेक्स साउनभित्रै सञ्चालनमा आउन सक्ने नेप्सेका अधिकारीहरु बताउँछन्। 

नेप्से–३०मा ३० वटा कम्पनीहरुको कारोबार हुनेछ। यसअघि नेप्सेले तयार गरेको कार्यविधिमा तोकिएको मापदण्डका आधारमा ती कम्पनीहरुको छनोट भइसकेको छ। 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार अहिले नेप्से उपसमूहमा रहेका १३ वटा समूहलाई ६ वटामा समायोजन गर्दै नेप्से–३०मा समावेश गरिने कम्पनीहरुको छनौट गरिएको छ। ‘ती ६ वटा समूहबाट अधिकतममा ८ वटा र कम्तीमा १ कम्पनी समावेश गरिएको छ’, उनले भने।

नेप्सले उपसमूहमा समायोजन गर्दै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई एउटै समूहमा राखेको छ। यो समूहबाट ८ वटा कम्पनी नेप्से–३० इन्डेक्सका लागि छनौट गरिएको छ। 

यसैगरी जीवन र निर्जीवन बीमालाई एउटै समूहमा राखिएको छ। यो समूहबाट ५ वटा कम्पनी छनौट गरिएको छ। 

त्यस्तै अन्य, होटेल तथा पर्यटन र कारोबारबाट एउटा समूह तयार गरिएको थियो। यो समूहबाट ३ वटा कम्पनी छनौट गरिएको छ। 

लघुवित्त समूहबाट ७ वटा, जलविद्युत समूहबाट ५ वटा र उत्पादन तथा प्रशोधन समूहबाट २ वटा नेप्से–३० इन्डेक्समा समावेश गरिएका छन्।