-डा. दिलनाथ दंगाल
विश्वका प्राय सबै राष्ट्रहरूको विकासको गति दोस्रो विश्वयुद्ध पश्चात् नै सुरू भएको इतिहास छ । नेपालले आर्थिक विकास गर्नलाई प्राप्त गरेको राजनैतिक वातावरण २००७ साललाई नै मान्ने हो भने पनि उक्त समयमा राजनीतिक र आर्थिक अवस्था हाम्रो भन्दा दयनीय रहेका जापान, कोरिया, भारत र ताइवान जस्ता देशहरूले आफ्नो ठोस शासन व्यवस्था र उपयुक्त आर्थिक नीतिका कारणले देशको अर्थतन्त्रको स्वरूप निर्धारण गरिसकेका छन् भने नेपालले स्वरूप लिने क्रममा छ।  
 
हामी उत्पादनमा होइन विदेशबाट वस्तु आयात गरी उपभोग गर्नमा रमाएका छौं । वि .सं. २०४५ सम्म खाद्यान्न, दाल र तेल जस्ता कृषि उत्पादन विदेशमा निकासी गर्ने हामी आजसम्म आइपुग्दा अन्य देशहरूबाट आयात नगर्ने हो भने लगभग खानै नपाउने अवस्थामा पुगेका छौं । 
 
ठूला उद्योगीहरू विदेशमा उत्पादन भएका वस्तुहरूका व्यापारी भएका छन् भने साना उद्योगीहरू कच्चा पदार्थको अभाव, कुशल मजदुरको अभाव, पर्याप्त पूँजीको अभाव, विभिन्न व्यक्ति र समूहलाई बुझाउनुपर्ने कमिसन र विदेशबाट आयात हुने वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेर बन्द हुने अवस्थामा छन् । 
 
स्वदेशमा रोजगारी सिर्जनाका प्रशस्त सम्भावनाहरू हुँदा हँुदै युवाहरूलाई बुझाउन र रोजगारको ग्यारेण्टी गर्न नसक्दा उनीहरू खाँडी मुलुकमा गएर सस्तोमा आफ्नो सिप बेच्न बाध्य छन् भने अलि पढेलेखेका युवाहरू जापान, अमेरिका, अष्ट्रेलिया र क्यानडा जस्ता आकर्षक मानिएका देशहरूमा ज्याला मजदुरी गर्न बाध्य छन्  । यसले विस्तारै विस्तारै नेपालमा बुढाबुढीको सङ्ख्या बढ्दो छ । जसको कारणले हजारौं हेक्टर उत्पादक भूमि बाँझै रहेको छ भने गाउँमा मानिस मर्दा घाटसम्म लैजाने मानिसको अभावमा पुलिस प्रशासनको सहायता लिनुपर्ने अवस्थाको सिर्जना हँुदै गएको छ । 
                             
नेपाल सानो आकारको अर्थतन्त्र भएको भुपरिवेष्ठित मुलुक हालसम्म कुनै देशको उपनिवेश नै नभए पनि विदेशसँग आश्रित भएर रहेको छ । कुल ग्राहस्थ उत्पादनको ५ प्रतिशतभन्दा कम मात्र योगदान रहेको औद्योगिक क्षेत्रको यो दुरावस्था हुनु अर्थतन्त्रको विकासका लागि नराम्रो संकेत हो । अर्थतन्त्रमा एकतिहाइ हिस्सा रहेको कृषि पनि परम्परागत र जीवन निर्वाहमा सीमित हुन पुगेकाले खाद्यान्नमा आन्तरिक माग धान्न नसकेर आयात बढेर व्यापार घाटा दिन प्रतिदिन बढ्दो अवस्थामा छ । 
 
वास्तविक विश्लेषण गर्ने हो भने संसारका कुनै पनि देश पूर्ण रूपमा आत्मनिर्भर हुन सक्दैनन् । विश्वव्यापीकरणको आजको युगमा पूर्ण रूपको आत्मनिर्भर अर्थतन्त्रको कुरा गर्नु अव्यवहारिक हुन्छ । हामीलाई जीवन धान्नका लागि चाहिने सम्पूर्ण वस्तु तथा सेवा र विकास निर्माणमा आत्मनिर्भर सम्भव छैन । भौतिक विकासका कुरामा देश आत्मनिर्भर हुन सके पनि प्राकृतिक स्रोत र साधनमा आधारित विकासमा यो सम्भव छैन । सबै क्षेत्रमा आत्मनिर्भर बन्न नसके पनि जलस्रोत, कृषि आदिमा हामी पूर्ण रूपमा आत्मनिर्भर बन्न सक्छौं भने अन्य क्षेत्रमा हामी अन्तर निर्भर बन्नुपर्ने हुन्छ । हामीले जलस्रोतलाइ जलविद्युतमा परिणत गर्ने हो भने यसमा आत्मनिर्भर बन्नुका साथै जलविद्युतलाई मात्र निर्यात गर्न सकिएमा अन्तरनिर्भर अर्थतन्त्र बलियो हुनुका साथै व्यापार घाटा कम हुने थियो । 
       
लामो समयपछि देशमा स्थिर सरकार बनेको छ । विकास भन्ने कुरा आजको भोलि तुरुन्त हुने कुरा त हैन, यसका लागि सरकारलाई समय त लाग्छ नै । तसर्थ अब हामीले निम्न विकल्पहरू अवलम्बन गर्न सके नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सकिन्छ । 
 
१.चीनसँगको नाका खोल्ने: नेपाल जस्ता भुपरिवेष्ठित देशहरू विश्वमा अरु पनि छन् । तर, तिनीहरूको व्यापार नेपालमा जस्तो एउटै देशमा मात्र निर्भर छैन । हाल हाम्रो ७० प्रतिशत व्यापार भारतसँग, २० प्रतिशतमात्र चीनसँग र बाँकी अन्य देशसँग रहेको छ। हामीले आत्मनिर्भर हुनका लागि चिनसँग  जोडिएका नौवटा मूल भन्सार र छ वटा छोटी भन्सार नाकासम्म सडक सञ्जाललाई जोडी ती नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्छ । यसो हुन सकेमा चीन र भारत हाम्रा दुवै असल छिमेकी देशहरूले गरेको आर्थिक उन्नतिबाट हामीले दोहोरो लाभ लिनसक्ने सम्भावना रहन्छ ।
 
२.उत्पादनमूलक उद्योगको खाँचोः  देश आत्मनिर्भरतिर अगाडि बढ्ने हो भने उत्पादनमूलक उद्योगको स्थापना हुनुपर्छ । यसो गर्न सके देशभित्रै अत्यधिक परिमाणमा उत्पादन हुनसक्ने र तुलनात्मक लाभ भएका वस्तु तथा सेवाको उत्पादनमा वृद्धि गरी निर्यात गर्ने सम्भावना बढ्छ । यसो हुँदा एकातिर थुपै्र वस्तुमा आत्मनिर्भर बन्न सकिन्छ भने वैदेशिक व्यापारलाई बलियो बनाउन पनि सकिन्छ ।
 
३.कृषि उत्पादन बढाउने: हामीले कृषि उत्पादन बढाउनुको विकल्प छैन । यसका लागि हामीसँग प्रशस्तै जमिन छ, उत्पादन गर्ने हातहरू छन्, त्यसैले हामीसँग भएको अपार जलस्रोतलाई उर्वरभूमिमा सिँचाई पुग्ने व्यवस्था गर्नुपर्छ । किसानलाई आवश्यक पर्ने मल उत्पादनका लागि यहीँ मल कारखाना स्थापना गर्ने, वैज्ञानिक कृषि प्राणाली लागू गरी उत्पादन बढाउने, प्रतिदिन १५०० देखि २००० सम्म  पलायन भइरहेको जनशक्तिलाई देशमै कृषि व्यवसायमा लगाउन ढिला गर्नु हँुदैन । 
 
४. इन्धनमा एकाधिकारको अन्त्य: हाल नेपालमा नेपाल आयल निगमले भारतीय आयल निगम (आइओसी) सँगमात्र इन्धन खरिद गर्ने गर्छ । यसो हुँदा कहिलेकाही समस्या पनि आउनसक्छ । तसर्थ एउटालाई मात्र तेल आपूर्तिको जिम्मा नदिई नेपालका अन्य कम्पनी वा व्यवसायिक घरानाहरूलाई पनि अन्य देशहरूबाट इन्धन आयात गरी देशमा बिक्री वितरण गर्ने अनुमति प्रदान गर्न सके राम्रो हुन्छ ।
 
५.उपभोगमा स्थानीय उत्पादनलाई प्रोत्साहन: नेपालमा खाद्यान्नको अभाव वा भोकमरी लाग्नुलाई चामलको अभाव वा चामलको भोकमरी भन्ने बुझिन्छ । चामलको अभाव हुने वित्तिकै खाद्यान्न अभाव भयो वा भोकमरी लाग्यो भनेर प्रचार गरिन्छ । तर, देशको जुन भागमा जे उत्पादन हुन्छ, त्यसैको प्रयोग गरेर शरीरलाई चाहिने क्यालोरीको मात्रा पूरा गर्न सकिन्छ भन्ने चेतना आम नागरिकलाई दिनु आवश्यक छ । यदि यसो गर्न सके  धान उत्पादन नहुने क्षेत्रमा मकै, गहुँ, कोदो जस्ता खाद्यान्न उत्पादन गरी उपभोग गर्न प्रोत्साहन गर्न सके अन्य देशबाट चामल आयात गर्नुपर्ने बाध्यता कम हुन्छ । 
 
६. विद्युतीय र सौर्य सामग्रीको प्रयोगमा जोड: नेपालका ठूला शहरहरूका प्राय घरहरूका चुल्होमा ग्याँस मट्टितेलको प्रयोग बढ्दो छ भने अधिकांश यातायातका साधनहरू पनि पेट्रोलियम पद्धार्थद्वारा नै सञ्चालित छन् । अर्काको देशबाट आयात हुने पेट्रोलमा कतिबेला आपूर्तिमा समस्या हुन्छ थाहै हँुदैन । तसर्थ भान्सामा प्रयोग हुने ग्याँस र मट्टिीतेलको विकल्पमा विद्यूतीय हिटर र सौर्य चुल्हो प्रयोग गर्न सकिन्छ भने देशमा लोडसेडिङको अन्त्यपछि विद्युतीय यातायातका साधनहरू आयात गरी प्रयोग बढाउनुपर्ने हुन्छ । यसलाई प्रोत्साहन गर्न सरकारले विद्युतीय र सौर्य सामग्री देशमा भित्राउँदा भन्सार छुटको व्यवस्था गर्नुपर्छ । यस्ता सामग्रीहरू एकपटक लगानी गरेपछि महिनौसम्म टिक्ने हुनाले पैसाको बचत हुन्छ र ग्याँस र तेलमा विदेशिने अर्बौ पैसा देशमै रोकिन्छ ।
 
७. बायो डिजल उत्पादनमा जोड: देशको पहाडी र अन्य भेगमा उत्पादन हुने सजीवनको विउबाट बायो डिजल उत्पादन गर्न सकिन्छ । केहि वर्ष अगाडि पाल्पाको झुम्समा उत्पादन शुरु भएको समाचार आएको थियो । यो उत्पादनलाई जोडदिने हो भने अधिकांश पहाडी भूभागमा यसको उत्पादन गरी बायो डिजलको उत्पादन र प्रयोग बढाउन सकेमा पेट्रोलियम पदार्थ आयात कम गर्न सकिन्थ्यो । साथै पहाडका नाङ्गा डाँडाहरू हरियालीमा परिणत हुनुका साथै धेरै नेपाली युवाले देशमै रोजगारी पाउने थिए ।
(डा.दंगाल त्रि.वि.अर्थशास्त्रका उपप्र्राध्यापक हुन्)