काठमाण्डौ । अपर तामाकोशीले आयोजना प्रभावितका लागि निश्कासन गरेको सेयर बाँडफाँड भएको छ । 

एक कार्यक्रमका बीच बुधबार अपर तामाकोशीको सेयर बाँडफाँड गरिएको हो । 

कुल १,०५,९०,००० कित्ता बुधबार नियमन निकायहरुको प्रतिनिधि, निष्काशन कम्पनी तथा निष्काशन तथा बिक्री प्रबन्धकहरुको उपस्थितिमा एक समारोह बीच आयोजनाका अति प्रभावित, प्रभावित र दोलखा जिल्लाका अन्य बासिन्दाहरुलाई क्रमश क, ख, ग वर्गमा वर्गिकरण गरी ३: १.४: १ को अनुपातमा बाँडफाँट गरिएको बताइएको छ । 

आयोजना अति प्रभावित “क” वर्गमा कूल ५,०५० जना रितपूर्वक आवेदन दिने आवेदकहरुमध्ये ३० कित्ता देखि १०० कित्ता शेयर माग आवेदकहरुलाई माग बमोजिम तथा ११० कित्ता देखि ३०० कित्ता शेयर माग गर्ने सम्पूर्ण आवेदहरुलाई १०२ कित्ताका दरले जम्मा ५,१०,९५० कित्ता शेयर बाँडफाँट गरियो । 
यस्तै, आयोजना प्रभावित “ख” वर्गमा कूल ८१,२३७ जना रितपूर्वन आवेदक दिने आवेदकहरु मध्ये ३० कित्ता देखि ४० कित्ता शेयर माग गर्ने आवेदकहरुलाई माग बमोजिम तथा ५० कित्ता देखि ३०० कित्ता शेयर माग गर्ने सम्पूर्ण आवेदहरुलाई ४८ कित्ताका दरले जम्मा ३७,७७,५८६ कित्ता शेयर बाँडफाँट गरिएको निश्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । 

दोलखा जिल्लाका अन्य बासिन्दाहरु “ग” वर्गमा रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये ३० कित्ता शेयर माग गर्ने आवेदकहरुलाई माग बमोजिम, ४० कित्ता शेयर माग गर्ने आवेदकहरुलाई ३२ कित्ता र सो भन्दा माथि ५० कित्ता देखि ३०० कित्ता शेयर माग गर्ने आवेदकहरुलाई ३४ कित्ताका दरले जम्मा ६२,९९,८६६ कित्ता शेयर बांँडफाँट भएको कोषको भनाई छ । 

यसअनुसार वितरण गरी बाँकी रहेको १,५९८ शेयर कित्ता दोलखा जिल्लाका अति प्रभावित “क” वर्गका ३०० कित्ता आवेदन दिने ४,१८६ जना आवेदकहरुलाई गोला प्रथाबाट थप १ कित्ता शेयर बाँडफाँट गरिएको थियो । 

नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्व तथा सन्राइज क्यापिटल लिमिटेडको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको रु.१००।— अंकित दरको १,०५,९०,००० कित्ता शेयर दोलखा जिल्लाका बासिन्दाहरुको लागि खरीद आह्वान गर्दा आयोजना अति प्रभावित “क” वर्गमा कूल ५,०५० जना आवेदकहरु मार्फत १३,८८,३०० कित्ता शेयरको लागि, आयोजना प्रभावित “ख” वर्गमा कूल ८१,२४२ जना आवेदकहरु मार्फत १,२७,८१,२९० कित्ता शेयरको लागि र दोलखा जिल्लाका अन्य बासिन्दाहरु “ग” वर्गमा कूल १,८९,९२३ जना आवेदकहरु मार्फत २,३५,४२,३७० कित्ता शेयरको लागि आवेदन प्राप्त भई जम्मा २,७६,२१५ स्थानिय बासिन्दाहरुबाट ३,७७,११,९६० कित्ता शेयरको लागि आवेदन प्राप्त भएको थियो ।