काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ यसै साता बाँडफाँड हुने भएको छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका सीईओ पारसमणि ढकालका अनुसार साधना लघुवित्तको आईपीओको प्रिअलटमेन्ट आज आइतबार हुन गइरहेको छ। ‘सकभर यही असार महिनाभित्र आईपीओ बाँडफाँडको तयारी गरिरहेका छौँ’, ढकालले बिजशालासँग भने, ‘नियमअनुसार ३ दिनभित्र बाँडफाँड गर्नुपर्ने हुन्छ अर्थात् ३ दिनअगावै पनि बाँडफाँड हुन पनि सक्छ।’

संस्थाले गत असार २१ गतेदेखि असार २४ गतेसम्म ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको थियो। संस्थाले प्रतिकित्ता रु. १०० दरका ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो। निष्कासित कुल सेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो। 

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। यो आईपीओलाई केयर रेटिङ नेपालले औसतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस प्रदान गरेको छ। 

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा कुल ४ लाख ५८ हजार ६४३ वटा आवेदनमार्फत कुल १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन परेको छ। यो संख्या सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताको तुलनामा १७.०२ गुणा बढी हो।

कुल आवेदनमध्ये १० हजार ३१ वटा आवेदन रित नपुगेका कारण रद्द भएका छन्।