काठमाण्डौ । सबै आर्थिक सूचक तथा परिस्थिति सकारात्मक रहेको अवस्थामा लगानीकर्तालाई हतोत्साही नहुन तथा विवेकपूर्वक निर्णय गर्न आग्रह गर्दै नेपाल इन्भेस्टर्स फोरमले बजार घट्ने कारणहरु प्रस्तुत गरेको छ । 

महासचिव बच्चुराम रिमालले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै सरकारी निकायहरुको पूर्ण सहयोग र कुनै प्राथमिकतामा नपर्नुको बाबजुद पनि सूचिकृत संस्थाको वार्षिक प्रतिफल प्राप्त गर्ने समय भएको, बैंक तथा बित्तीय संस्थाहरुमा अधिक तरलता रहेको, मुद्धती निक्षेपमा दिने ब्याजदर र कर्जाको ब्याजदर क्रमशः घट्दै गएको, कम्पनीहरुको मुनाफा वृद्धि सन्तोषजनक रहेको उल्लेख गर्दै सम्हालिएर लगानीको निर्णय लिन आग्रह गरेका हुन् । 

इन्भेस्टर्स फोरमले आर्थिक क्षेत्रको ऐनाको रुपमा रहेको सेयर बजारलाई सरकारले सधैं नकारात्मक दृष्टिले हेर्ने गरेको आरोप समेत लगाएको छ । फोरमले सेयर बजारलाई अविलम्ब प्राथमिकताप्राप्त पूँजी उद्योगको रुपमा परिभाषित गर्न समेत माग गरेको छ । 

फोरमले लगानीकर्ता हतोत्साही भई बजार घट्नुको कारण समेत प्रस्तुत गरेको छ । उसले पेश गरेका कारण यस्ता छन् :

  • ब्रोकरमार्फत मार्जिन लेण्डिङ कार्य सुरु नगर्नु
  • बैंकलाई ब्रोकर लाइसेन्स दिने कार्य अगाडि नबढ्नुु
  • अनलाइन कारोबार संचालन गर्ने कुराको सुनिश्चितता नहुनु
  • गैरआवासी नेपालीहरुलाई सेयरबजारमा सिधैं लगानी गर्नसक्ने व्यवस्था नहुनु
  • नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारीको पद लामो समयसम्म पनि पूर्ति हुन नसक्नू
  • नेपाल धितोपत्र बोर्डले लगानीकर्तासँग समन्वय र छलफल गरी बजार सुधारका कार्यक्रम संचालन गर्नुको साटो उल्टै लगानीकर्ताहरुलाई तर्साउने गरी कहिले स्थायी लेखानम्बरको बिषयमा र कहिले बोर्डसँग असम्बन्धित बिषयमा मिडियावाजी गरी अफवाह फैलाउनुु
  • नेपाल राष्ट्रबैंकले सेयरधितो कर्जामा सीमा लगाउनुु
  • बुक क्लोजपछि समायोजित मूल्यमा बोनस सेयरलाई धितोमा गणना गर्न नदिनूू
  • नियामक निकायहरुले नियमित गर्ने भनिएका कुराहरु कार्यान्वयन नगर्नु
  • नागरिक लगानीकोषलाई बजार निर्माताको रुपमा भूमिका निर्वाह गर्न नेपाल सरकारले गरेको आग्रह कार्यान्वयनमा नल्याइनुु
  • सेयरधितो कर्जाको गणना १८० दिनको औसत दरको ७० प्रतिशत सीमालाई संकुचन गरिनु