काठमाण्डौ । तीन जीवन बीमा कम्पनीसहित आठवटा कम्पनीले प्रिमियर मूल्यमा आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएका छन्।
हाल ती कम्पनीका आईपीओ नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा रहेका छन्। प्रिमियर मूल्यमा आईपीओ जारी गर्ने अनुमति माग्नेमा सोनापुर मिनरल्स एन्ड आयाल, रिलायबल नेपाल लाइफ इन्सोरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, घोराही सिमेन्ट इन्डस्ट्री, माण्डु हाइड्रोपावर र भगवती हाइड्रोपावर छन्।
सोनापुर मिनिरल्सले ३ अर्ब २ करोड १५ लाख २२ हजार ६२३.२८ रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति मागेको छ। जसअनुसार कम्पनीले प्रतिकित्ता स्थानीय र कर्मचारीलाई २२५ रुपैयाँ (१२५ रुपैयाँ प्रिमियम) र सर्वसाधारणका लागि २४९.८४ (१४९.८४ रुपैयाँ प्रिमियम) मूल्य तोकिएको छ। यो आईपीओको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ।
यसैगरी रिलायन्स नेपाल लाइफले २ अर्ब ५४ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति मागेको छ। जसअनुसार कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँ (११२ रुपैयाँ प्रिमियम) मूल्य तोकिएको छ। यो आईपीओको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।
सन नेपाल लाइफले पनि प्रतिकित्ता २५०.५५ रुपैयाँ (प्रिमियम १५०.५५ रुपैयाँ)का हिसाबले ९६ लाख कित्ता आईपीओ बिक्री गर्ने अनुमति मागेको छ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ।
उता आइएमई लाइफले प्रतिकित्ता २७६ रुपैयाँ (प्रिमियम १७६ रुपैयाँ) र सिटिजन्स लाइफले प्रतिकित्ता २९० रुपैयाँ (प्रिमियम १९० रुपैयाँ)को हिसाबले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएका छन्। सिटिजन लाइफले कर्मचारीका लागि भने १०० रुपैयाँमै आईपीओ बिक्री खुलाउनेछ। आइएमई लाइफले १ करोड २० लाख कित्ता र सिटिजन लाइफले १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछन्। आईपीओ बिक्री प्रबन्धकमा आइएमई लाइफको सिभिल क्यापिटल र सिटिजन लाइफको एनआईबिएल एस क्यापिटल छन्।
घोराही सिमेन्टले स्थानीयलाई प्रतिकित्ता ४०० रुपैयाँ (प्रिमियम ३०० रुपैयाँ) र सर्वसाधारणलाई ४३५ रुपैयाँ (प्रिमियम ३३५ रुपैयाँ)का हिसाबले आईपीओ बिक्रीको अनुमति मागेको छ। अनुमति पाएमा यो कम्पनीले ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गर्नेछ। घोराही सिमेन्टको आईपीओ बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्टले गर्नेछन्।
यस्तै माण्डु हाइड्रोपावरले १४८ रुपैयाँ प्रिमियर थपेर स्थानीय र सर्वसाधारणलाई प्रतिकित्ता २४८ रुपैयाँमा आईपीओ बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ। सेबोनले अनुमति दिएमा माण्डु हाइड्रोपावरले १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ जारी गर्नेछ। माण्डुको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
भगवती हाइड्रोपावरले पनि प्रिमियममा आईपीओ जारी गर्नेछ। कम्पनीले प्रतिकित्ता ११६ रुपैयाँ (१६ रुपैयाँ प्रिमियम)मा स्थानीय र सर्वसाधारणलाई आईपीओ बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १४ लाख ३० हजार १६२ कित्ता आईपीओ जारी गर्नेछ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago