काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। 

सार्वजनिक नीति तथा कार्यक्रममा धेरैजसो विषयहरु पुराना नै छन् भने केही विषयहरु नयाँ समेटिएका छन्। 

आज सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सेबोन केही मुख्य नीतिहरु लिएको छ।  

यस्ता छन् मुख्य नीतिहरु

  • बजार तथा नियमनलाई धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था (आईओएससीओ) को मापदण्डअनुरुप स्वच्छ, पारदर्शी तथा लगानीकर्तामैत्री बनाई लगानीकर्ताको हकहित संरक्षण सुनिश्चित गरी बजारमा साधारण तथा संस्थागत लगानीकर्ताको सहभागिता अभिवृद्धि गर्ने,
  • धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल सुधार गरी बजारलाई सुदृढ, गतिशील तथा प्रभावकारी बनाउन संरचनात्मक सुधार गर्ने,
  • बोर्डबाट सम्पादन गरिने कार्यहरुलाई सूचना प्रविधिमैत्री बनाई छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्ने गरी बोर्डको संस्थागत, सुपरिवेक्षकीय एवं नियामकीय क्षमता अभिवृद्धि गर्ने,
  • नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायको प्रवर्द्धन गर्न आवश्यक पुँजी परिचालनका लागि पीई÷भीसी इकोसिस्टम निर्माण तथा एसएमई इन्डस्ट्री विकासको सिग्नेचर पोलिसी लिई उद्यमशीलता प्रवर्द्धन तथा इन्टरप्राइजेज डेभलपमेन्टमार्फत अर्थतन्त्रमा नयाँ धार सिर्जना गर्ने,
  • वस्तु विनिमय बजार संचालनमा ल्याउने, धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा अनुमतिपत्र प्रदान गर्ने प्रणालीलाई थप प्रभावकारी व्यवस्थित एवं पारदर्शी बनाई तोकिएको मापदण्ड पूरा गरेका संस्थालाई निश्चित समयावधिभित्र खुला प्रणालीमार्फत अनुमतिपत्र प्रदान गर्ने,
  • धितोपत्र बजारमा क्षेत्रगत विविधीकरण ल्याउन व्यावसायिक रुपमा सफल तथा स्थापित उत्पादनमूलक संगठित संस्थाहरुलाई धितोपत्र निष्काशन तथा सूचीकरण गर्न सहजीकरण गरी बजारको विस्तार र क्षेत्रगत सन्तुलन मिलाउने एवं धितोपत्रको दोस्रो बजारमा कारोबार योग्य नयाँ औजारहरु संचालनमा ल्याउन सहजीकरणमार्फत प्रोत्साहित गरी धितोपत्र औजारहरुमा विविधता ल्याउने,
  • पुँजीबजारमा लगानीकर्ताको संख्यामा वृद्धि तथा प्रतिस्पर्धात्मक वातावरणको विकास गर्न एवं गैरआवासीय नेपाली नागरिकहरुको ज्ञान, सीप, पुँजी, प्रविधि र सञ्जाललाई मुलुकको विकास र समृद्धिसँग जोड्ने गरी गैर आवासीय नेपाली नागरिकहरुलाई पुँजीबजारमा सहज प्रवेशका लागि आवश्यक कानुनी तथा संस्थागत पूर्वाधार तयार गर्ने,
  • धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी लगानीकर्ता शिक्षा तथा जनचेतना अभिवृद्धिसहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्ने, बोर्डको नियमन तथा सुपरिवेक्षकीय कार्यहरु दक्ष एवं प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक जनशक्तिको व्यवस्थापन र कर्मचारीको क्षमता अभिवृद्धि तथा विकास गर्ने।