काठमाण्डौ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। यतिबेला उम्मेदवारहरु जोडतोडले प्रचारप्रसारमा जुटेका छन्। उनीहरु मतदाताको घरदैलोमा पुगेर आआफ्ना अजेन्डाहरु सुनाउँदै मत मागिरहेका छन्। 

चुनावी अभियानका क्रममा उम्मेदवारले मतदाता नामावली रसिद, सवारीसाधन, इन्धन, प्रचार–प्रसार सामग्रीलगायतका शीर्षकमा खर्च गर्न पाउँछन्। चुनावी अभियानमा उम्मेदवारहरुले लाखौँ खर्च गर्ने गरेको सुन्न पनि पाइछन्छ। 

निर्वाचन आयोगले भने स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले खर्च गर्न पाउने रकमको सीमा तोकेको छ। तोकिएको भन्दा बढी खर्च गर्न नपाउने आयोगले जनाएको छ। 

कुन तहका उम्मेदवार कति खर्च गर्न पाउँछन् ?

महानगरपालिका

महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च गर्न पाउँदैनन्। महानगरका वडाध्यक्ष, वडासदस्य महिला र दलित वा अल्पसंख्या सदस्यले बढीमा ३ लाख रुपैयाँ खर्च गर्न पाउँछन्। 

उपमहानगरपालिका 

यो तहका मेयर र उपमेयरका उम्मेदवारले पनि ५ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च गर्न पाउँदैनन्। वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्यक सदस्यले बढीमा २ लाख ५० हजार रुपैयाँमात्रै खर्च गर्न पाउनेछन्। 

नगरपालिका

नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले पनि बढीमा ४ लाख ५० हजार रुपैयाँ खर्च पाउँछन्। वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्यक सदस्यले २ लाख रुपैयाँभन्दा बढी खर्च गर्न पाउँदैनन्। 

गाउँपालिका

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च गर्न पाउँदैनन्। त्यस्तै वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्यक सदस्यले बढीमा १ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन्।