काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत थोककर्जा प्रदायक लघुवित्त संस्थाहरुको चुक्तापूँजी ६० करोड पुर्याउनुपर्ने व्यवस्था गरेपछि सोहीअनुसारको पूँजी वृद्धि योजना आरएसडिसी लघुवित्त बित्तीय संस्थाले सार्वजनिक गरेको छ । 

आरएसडिसीको २०७३ भदौ २६ गते बसेको ३९ औं बोर्ड बैठकको निर्णय सार्वजनिक भएको हो । नेपाल राष्ट्रबैंकले चाहि भदौ ८ गते यस्तो नीति सार्वजनिक गरेको थियो ।

सोही नीति अनुसार आर्थिक वर्ष २०७४/७५ भित्रमा तोकिएको चुक्तापूँजी पुर्याउने गरी पूँजी वृद्धिको योजना पारित भएको र सो सार्वजनिक गरिएको कम्पनी सचिव दामोदर जोशीले बताएका छन् । 

यो संस्थाले पूँजीवृद्धिको योजनाअनुसार २०७३ भदौ ५ देखि ८ गतेसम्मे १ सय रुपैयाँ अंकित मूल्यको ४ करोड मूल्यको सेयर प्राथमिक निश्कासन(आइपीओ) गरेको थियो । यो प्रक्रियाबाट चुक्तापुँजमा ४ करोड थपिएको थियो । आर्थिक वर्ष २०७२/७३ मा यो संस्थाको चुक्तापुँजी ६ करोडमा सीमित थियो । 

कम्पनीले चालु आर्थिक वर्षको खूद नाफाबाट १५ प्रतिशत बोनस सेयर जारी गरी चुक्तापूँजी ११ करोड ५० लाख पुर्याउनेछ । यसैगरी, चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बोनस वितरणपछि कायम हुन आउने पूँजीको एक बराबर दुुई अर्थात २ सय प्रतिशत हकप्रद निश्कासन गरिने बताइएको छ । हकप्रदपछि चालु आर्थिक वर्षको असार मसान्तसम्म यो लघुवित्त संस्थाको चुक्तापूँजी ३४ करोड ५० लाख पुुग्नेछ । 

त्यसपछि आर्थिक वर्ष २०७४/७५ को पुस मसान्तसम्म ५ प्रतिशत बोनस सेयर वितरण गरी चुक्तापुँजी ३६ करोड २२ लाख ५० हजार पुर्याउने पूँजी योजनामा उल्लेख छ । आर्थिक वर्ष २०७४/७५ को असार मसान्तसम्म सेयरधनीहरुलाई ३६ करोड २२ लाख ५० हजार चुक्तापुँजीको ५ बराबर ३ को दरले पुनः हकप्रद वितरण गर्ने र त्यसपछि चुक्तापुँजी ५७ करोड ९६ लाख पुुग्ने बताइएको छ । 

हकप्रद वितरणपछि कायम चुक्तापूँजीमा २ करोड ५३ लाख ५७ हजार रुपैयाँ आर्थिक वर्ष २०७४/७५ को मुनाफालाई पूँजीकृत गरी ६० करोड ४९ लाख ५७ हजार पुर्याइने बताइएको छ ।