काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ निष्कासन हाललाई स्थगित गरिएको छ। 

कम्पनीले यही साउन २२ गतेबाट आयोजना प्रभावित इलामवासीका लागि १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्कासन गर्ने जनाइएको थियो। कुल निष्कासित कित्तामध्ये आयोजना प्रभावित इलाम जिल्लाभरिका बासिन्दाका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का बासिन्दाका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता निष्कासन गरिने भनिएको थियो। 

कोभिड संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय इलामले साउन १८ गतेदेखि साउन २५ गतेसम्म निषेधाज्ञा जारी गरेको अर्को व्यवस्था नभएसम्मका लागि आईपीओ निष्कासन हाललाई स्थगित गरिएको धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ। परिस्थिति सहज भएपछि पुनः अर्को सूचना प्रकाशित गरी आईपीओ निष्कासन गरिने पनि नेपाल एसबीआई मर्चेन्टले सूचना जारी गरी जानकारी गराएको छ। 

सामलिङ्ग पावरको आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत असार ३१ गते निष्कासन अनुमति दिएको थियो। धितोपत्र बोर्डले यो कम्पनीलाई कुल १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको छ।

सोहीअनुसार कम्पनीले पहिलो चरणमा स्थानीयका लागि ५ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो। दोस्रो चरणमा सर्वसाधारणका लागि ७ लाख ३० हजार कित्ता आईपीओ जारी गर्नेछ।

कम्पनीको यो आईपीओ चुक्तापुँजीको २४.६० प्रतिशतबराबर हुन आउँछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ पुग्नेछ।