काठमाण्डौ । भर्खरै प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री गरेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर दोस्रो बजारमा यही साताबाट कारोबारमा आउने भएको छ।

गोरखामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको लघुवित्त साधना लघुवित्तका सीईओ रेशम लामिछानेले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर सूचीकरणको प्रक्रिया अघि बढाइएको र मंगलबारसम्म सम्झौता गर्ने तयारी भइरहेको जानकारी दिए। सीईओ लामिछानेले भनेझैँ मंगलबार नेप्सेमा साधना लघुवित्तको सेयर सूचीकरणको सम्झौता भएमा भोलिपल्ट अर्थात बुधबारबाट यो कम्पनीको सेयर कारोबार दोस्रो बजारमा आउनेछ। 

संस्थाले गत असार २१ गतेदेखि असार २४ गतेसम्म ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको थियो। संस्थाले प्रतिकित्ता रु. १०० दरका ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो। निष्कासित कुल सेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।