काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक(नेप्से परिसूचक) ४.४७ अंकले घटेको छ । नेप्सेको गिरावट सामान्य भए पनि कारोबार रकम चाहि बढेको छ । बजार परिसूचक झिनो अंकले घट्दा कारोबार रकमको साथ बढ्नुुले भविष्यका लागि राम्रो संकेत गर्दछ ।
बैंकहरुका लगानीयोग्य पूँजीको चरम अभाव भइरहेको छ । निक्षेप तान्नका लागि मुद्धती र बचतमै पनि ब्याजदर वृद्धिको उस्तै होडबाजी चलिरहेको छ । यस्तो बेलामा सहज ढंगले सेयरकर्जा पाउने अवस्था छैन । तर, यति बिषम परिस्थितिमा समेत नेप्से परिसूचकमा झिनो मात्र गिरावट हुनुु र कारोबार रकम चाहि बढ्नुलाई सकारात्मक रुपमै लिनुपर्छ ।
तरलता अभावको अवस्था भयावह बन्दै जाँदा अधिकांश लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा छन् । नयाँ सरकार गठन र त्यसपछि सरकारले घोषणा गर्ने आर्थिक नीतिलाई धेरै पर्खिएर बसेका छन् । यही बेला भ्याटको बिषयले समेत कतिपय लगानीकर्ता तर्सिएका छन् । एकातिर तरलता समस्याले सेयर कर्जा पाउन छाडिएको छ भने अर्कोतर्फ भ्याटको बिषयले त्रसित लगानीकर्ताको भ्रम चिर्न सरोकारवाला निकायहरुले सकेका छैनन् ।
दोश्रो त्रैमासको अन्तिम महिनाको एकतिहाई दिन सकिँदा धेरैले भएको सेयर बिक्री गरेर ब्याज तिर्ने, अन्य आर्थिक व्यवस्थापन गर्ने क्रम पनि सुरु भइसकेको छ । अहिले निर्वाचनको नाममा गाउँ गाउँ गएको रकम शहरी इलाका र बैकिंग च्यानलमा फर्किसकेको छैन । सरकारी टेजरीको डिफिसिट दिनहुँ बढ्दो क्रममा रहेको बेला सेयर बजारका लागि पर्याप्त पूँजी हुने, तरलता सहज हुने अवस्थै रहेन । यी तमाम प्रतिकुलताका बाबजुद पनि लगानीकर्ता सुखद र स्वर्णिम भविष्यका आशामा पर्खिएर बसेका देखिएको छ ।
के–के भयो आइतबारको बजारमा ?
आइतबार बित्त समूह ०.३४ अंकले बढ्यो भने बाँकी सबै समूहको सूचकमा रातो पोतियो । बैकिङ समूह २.१३ अंकले घट्यो भने बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूहमा क्रमशः २५.११, १३.४२ र ३.३५ अंकको गिरावट देखियो । व्यापारिक समूह २.७१ अंकले घट्यो भने होटल समूह ७.८४, जलविद्युत समूह ३.९१, उत्पादनमूलक १३.१२ र अन्य समूह ८.१ अंकले घटे । यो दिन क वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आउँदा सेन्सेटिभ इण्डेक्स ०.९३ अंकले घट्यो भने फ्लोट इण्डेक्समा ०.२७ अंकको गिरावट देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६१ कम्पनीका १४ लाख ५७ हजार ४ सय २० कित्ता सेयर ५५ करोड ९५ लाख ८२ हजार ८ सय ४० रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८ करोड ४५ लाख बढीको सेयर कारोबार गर्यो । जनता बैंक नेपालले २ करोड ७७ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ७७ लाख बढीको कारोबार गरे । प्रभूू बैंकको २ करोड ७२ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल टेलिकमले २ करोड ६२ लाख, एभरेष्ट बैंकले २ करोड ५ लाख, हिमालयन बैंकले १ करोड २२ लाख बढीको सेयर कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ग्रीन डेभलपमेन्ट बैंक लिमीटेडले पैसा छाप्यो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । यस्तै, महुली सामुदायिक लघुवित्त संस्थाको सेयर मूल्य समेत ९.१८ प्रतिशतले बढ्यो ।
यो दिन सिन्धुु विकास बैंकको मूल्यमा पहिरो गयो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्न पुुग्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago