– प्रकाश न्यौपाने

काठमाण्डौ । लामो समयदेखि शिक्षण पेसामा आबद्ध व्यक्ति हुन्, विष्णुप्रसाद वस्ती। गोरखा जन्मथलो भएका वस्ती हाल काठमाण्डौको सोह्रखुट्टेमा बसोबास गर्छन्। 

वस्ती २०४८ सालताका ललितपुरको एलए स्कुलका पढाउँथे। त्यतिबेला उनी शिक्षण पेसा खुबै रुचाइएका व्यक्ति थिए। ‘त्यतिबेला मैले गणित विषयमा निमावि तहमा शिक्षा सेवा आयोगबाट नाम निकालेर विश्व निकेतन विद्यालयमा पढाउँथेँ, त्यतिबेला सरकारी तलब १ हजार ५० रुपैयाँ थियो’, उनले भने, ‘उता एलए स्कुलमा भने मैले २ हजार ९७५ रुपैयाँ तलब थाप्थेँ। पछि मैले सरकारी सुविधाभन्दा प्राइभेटमा लगभग तीनगुणा बढी पैसा पाउने भएपछि सरकारी जागिरबाट राजीनामा दिएँ।’

वस्तीले २०४८ सालदेखि २०६१ सालसम्म एलए स्कुलमा पढाए। त्यसबेला वस्तीले एसएलसीको क्वेसन कलेक्सन किताब लेखेर राम्रै आम्दानी पनि गरेर र नाम पनि कमाए। स्कुल–कलेजमा अध्यापन गराउँदै वस्ती २०६७ सालबाट भने सेयर बजारमा प्रवेश गरेका थिए। हाल ५७ वर्षे वस्ती शिक्षण पेसाभन्दा पनि सेयर बजारमा सक्रियताका साथ कारोबार गरिरहेका छन्। ‘अहिले त पढाउनेभन्दा सेयरमा बढी लागेको छु, सेयर बजारमा मोहनी नै लागेको छ’, उनले भने। 

दुई छोरी र एक छोराका पिता वस्ती प्राथमिक बजारबाट यो क्षेत्रमा प्रवेश गरेका हुन्। ‘सुरुको एक वर्ष मैले आफ्नो र परिवारका सदस्यको नाममा आईपीओ भर्दै सेयर बजार अध्ययन गरेँ’, उनले भने, ‘२०६८ सालबाट भने नबिल बैंकको सेयर किनेर दोस्रो बजारमा छिरेँ।’

वस्तीले आईपीओमा परेका राम्रा कम्पनीका सयेर अझै पनि बेचेका छैनन्। ‘मैले ऋण लिएर सेयर बजारमा कहिले पनि लगानी गरिनँ’, वस्तीले भने, ‘दैनिकी चलाउने अन्य आयस्रोत भएको हुनाले कहिल्यै सेयर बजारको घटबढमा चिन्ता भएन।’

कमाइको स–सानो रकम लगानी गर्दै जाँदा लामो समयपछि ठूलो रकम प्राप्त गर्न सकिने वस्तीको अनुभव छ। ‘मैले हजारबाट सुरु गरेको लगानी अहिले लाखौँमा पुगेको छ’, उनले भने। 

वस्ती ११७५ को बुलमा ४० प्रतिशत बिक्री गरेर बजार निकै तल झरेपछि फेरि बजार छिरेका रहेछन्। ‘चिनजानका साथीभाइलाई मैले बढेको बेला बेच्न सल्लाह दिन्थेँ तर उनीहरु अझ बढ्ने लोभमा पर्दा बजार लगातार झरेपछि नाफा बुक गर्न सकेनन्’, उनले भने, ‘मैले ११७५ को बुलमा कमाएको पैसा बजार करिब ३० प्रतिशत तल झरेपछि स–सानो रकम लगानी गर्दै गएँ र १७५० को आसपासमा राम्रै नाफा कमाउन सफल भएँ।’

वस्तीले सेयर बजारबाट कमाएको पैसा नाफा बुक गर्दै अलिकति घटेको बेला फेरि सेयर बजारमै लगानी गर्दै आएका छन्। ‘१८८१ को बुलको करेक्सन १३०० मा आउँदा बजार छिरेँ तर बजार ११०० सम्म झर्यो’, उनी सम्झिन्छन्, ‘बजार जति तल भर्यो त्यति नै बेला अलि–अलि किन्दै गएँ।’

बजार घट्दा आत्तिएर बेच्न नहुने वस्तीको सुझाव छ। ‘कतिपय साथीहरुले बैंकबाट ऋण लिएर कम समयमा मनग्य कमाउने लोभमा सेयर बजारमा लगानी गर्ने र बजार घट्दा आत्तिएर बेच्दा ३ करोड लगानी १ करोडमा झरेको पनि सुनेको छु’, उनले भने, ‘घट्दो बजारमा ऋण लिएर लगानी गर्दा ब्याजको चाप र बजारको करेक्सनको दोहोरो मारमा परेका उदाहरण थुप्रै छन्।’

घट्दो बजारमा ऋण लिएर लगानी गर्नुभन्दा आफूसँग भएको पैसा लगानी गर्नु उचित हुने वस्तीको सुझाव छ। ‘बजारले अहिले थुप्रै लगानीकर्ताको होश उडाएको छ’, उनले भने, ‘ऋण लिएर लगानी गर्नेको घरबार नै सकिएको छ।’

वस्ती ३२०० को बुलमा लाखौँको पोर्टफोलियो भए पनि सामाजिक सञ्जालको विश्वास गर्दा थुप्रै लगानीकर्ता फसेको बताउँछन्। ‘मेरो अनुभवमा विना अध्ययन र ज्ञान दोस्रो बजारमा लाग्नु जोखिमपूर्ण हुन्छ, आफ्नो पैतृक सम्पत्ति पनि गुम्न सक्छ’, उनले भने, ‘त्यसैले बजार बुझेर आफूले कमाएको पैसा थोरै–थोरै लगानी गर्दै जाने र लगानीको तीनगुणा बढेपछि बेच्ने र ३०–३५ प्रतिशत बजार घटेपछि फेरि किन्न थाल्ने। यसो गरेको खण्डमा बजारबाट मनग्य कमाउन सकिन्छ।’

सबै नेपालीलाई आईपीओ भर्न र आईपीओमा परेको सेयर नबेच्न वस्ती सल्लाह दिन्छन्। ‘आफ्नो जीवनकालमा भरेको आईपीओको आम्दानीले बूढेशकालको बाँकी जीवन जिउन सहज हुन्छ’, उनले भने, ‘बूढेशकालमा न छोरा–बुहारीको आश न त सरकारको वृद्धभत्ताको लोभ न अस्थायी जागिरको पेन्सनको टन्सन।’