काठमाण्डौ । सोमबार महानगरीय अपराध महाशाखाको टोलीले काठमाण्डौको क्षेत्रपाटीबाट तस्करी हुँदै गरेको अवस्थामा गाडीबाट बरामद गरेको भनिएको ८८ केजी सुनका मालिक एक चिनियाँ दम्पत्ति रहेको खुलेको छ । 

उच्च प्रहरी स्रोतका अनुसार नेपालमा लामो समयदेखि सुनको व्यापारमा संलग्न दीपक मल्होत्रासँग नजिकको सम्बन्ध रहेका चिनियाँ दम्पत्ति याङ वेन विङ र वी मिङ सोमबार बरामद भएको ८८ केजी सुनका असली मालिक हुन् । 

यी दुुईमध्ये पति वी मिङ पनि ८८ केजी सुनलाई नेपाल हुँदै भारत कटाउन काठमाण्डौ आएका सुनसँगै पक्राउ परेका बा १७ च ६४२७ नम्बरका गाडीका चालक मनोज अधिकारीले प्रहरीलाई बयान दिएका छन् । उनले आफूसँगै चिनियाँ नागरिक काठमाण्डौ आएका र उनी भने अर्को गाडीमा रहेको बयान दिएपछि सोही आधारमा प्रहरीले वी मिङको खोजीलाई तीव्र पारेको छ । 

प्रहरी स्रोतका अनुसार यी चिनियाँ दम्पत्तिको काठमाण्डौका व्यापारी दीपक मल्होत्रासँग नजिकको सम्बन्ध रहेको देखिएको छ । तर, ८८ केजी सुन तस्करीमा मल्होत्राको संलग्नता अहिलेसम्म खुलेको छैन । प्रहरीले चिनियाँ दम्पत्तिको नेपालतर्फका व्यवसायिक पार्टनरको खोजीलाई समेत तीव्र पारेको छ । यी चिनियाँ दम्पत्तिको खास सम्बन्ध काठमाण्डौका सुन व्यापारी विजय र बिमल अग्रवालसँग पनि रहेको देखिएको एक प्रहरी अधिकारीले दाबी गरे । यी दुुई नाम बेला बेला सुन तस्करीमा मुछिँदै आएको छ । 

यी चिनियाँ दम्पत्तिले लामो समयदेखि नेपालको बाटो हुँदै ठूलो परिमाणको सुन भारततर्फ तस्करी गर्दै आएका समेत स्रोतको दाबी छ । उनीहरुले सुन तस्करीका लागि काठमाण्डौलाई सेल्टर बनाएका र यहाँका केही उच्च व्यापारीहरुको सहयोग लिएका देखिएको छ । प्रहरीले अपरेसन गोल्ड नामबाट थालेको अनुसन्धानको सूूईँ सुन तस्करीमा पटक–पटक मुछिने ठूला व्यापारीतर्फ घुम्छ या घुम्दैन, त्यो बिषय हेर्न बाँकी नै छ । 

यसअघि हुने ठूला सुन तस्करी काण्डमा समेत प्रहरी छानबिन छायाँमा पर्दै आएको छ । प्रहरीका करिब एकदर्जन चेकपोष्ट छलेर भीआइपीको लोगो लगाइएको गाडीमा ८८ केजी सुन काठमाण्डौसम्म ल्याइएको देखिएको छ । यो प्रकरणमा कतिपय प्रहरी अधिकारीहरुको समेत मिलेमतो रहेको हुनसक्ने देखिएको ती प्रहरी अधिकारीले बताए ।