काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचकमा सुधार भएको छ भने कारोबार रकम पनि बढेको छ । नेप्से परिसूचक ६.५४ अंकले बढेको छ । अधिकांश समूहको सूचक हराभरा भएका छन् ।

यो दिन बैकिङ समूह २.६२ अंक, विकास बैंक समूह १४.०८, जलविद्युत समूह २३.५७ अंक, बित्त समूह ३.२६, बिमा समूह ४८.६३, उत्पादनमूलक २८.३८ तथा अन्य समूह ३.७६ अंकले बढेका छन् । होटल समूह चाहि ३.१६  अंकले घटेको छ । 

‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.०४ अंक तथा समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.४६ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
साताको अन्तिम कारोबार दिन बजारमा १ सय ६१ कम्पनीका ३९ लाख २१ हजार ९ सय ६६ कित्ता सेयर ६४ करोड ७९ लाख  ६७ हजार २ सय ६५ रुपैया किनबेच भयो । सबैभन्दा बढी सिटिजन्स बैंक इन्टरनेशनलले ५ करोड २५ लाख बढीको कारोबार गर्यो । यस्तै, एभरेष्ट इन्स्योरेन्सले २ करोड ५० लाख, प्रभू इन्स्योरेन्सले २ करोड २१ लाख, समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले १ करोड ९३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ६७ लाख, आरएसडिसी लघुवित्त कम्पनीले १ करोड ४७ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ४ स्थान बिमा कम्पनी, ३ स्थान वाणिज्य बैंक, २ स्थान विकास बैंक र एक स्थान म्युचुअल फण्डले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी हिमालयन डिस्टीलरीका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्य ६.४९ प्रतिशतले वृद्धि भयो । यस्तै, न्याग्दी ग्रुप पावर लिमीटेड र मञ्जुश्री फाइनान्सको मूल्य क्रमशः ६.१३ र ६ प्रतिशतले वृद्धि भयो । 

यो दिन सबैभन्दा बढी जनरल फाइनान्सले गुमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो ।