काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको काम लगभग सकिएको समाचार, बैंकरका नेताहरुले असोजदेखि ब्याजदर घट्छ भनी दिएको अभिव्यक्ति, लगानीकर्ताका विभिन्न संघ संगठनले सरोकारवाला निकायमा जारी राखेका दौडधूप र पछिल्लो समय बजार सुधारका लागि अर्थमन्त्री डा.युवराज खतिवडा केही लचक बन्दै गरेका खबरहरुले सोमबारको सेयर बजारमा दोहोरो अंकको उछाल आएको छ । 

सोमबार बजारलाई उकालो यात्रामा डोहोर्याउने काममा केही कम्पनीहरुले घोषणा गरेका आकर्षक लाभांशको योगदान समेत उल्लेख्य रह्यो । 

यो दिन नेप्से परिसूचक १५.९८ अंकले बढेर १२०६.२६ को विन्दू चुमेको छ भने कारोबार रकममा समेत उछाल आई ५४ करोड ६० लाख माथि पुगेको छ । 

सोमबार मात्रै लगानीकर्ताका २ वटा संगठनले नेपाल बैंकर्स संघका अधिकारीहरुलाई भेटेर ब्याजदर कहिले घट्छ ? भनी सोधेका थिए । बैंकरहरुले निकट भविष्यमै ब्याजदर घट्ने भनी दिएको सूचनाले बजारमा उत्साह भर्ने काम गरेको देखिन्छ । 

अर्कोतर्फ, आइतबार अपरान्हदेखि अनलाइन कारोबार प्रणालीको काम लगभग सकिएको र यही सातादेखि मोक परीक्षण हुने खबरले समेत लगानीकर्ताको गिर्दो मनोबल उकास्ने काम गरेको देखिएको विश्लेषकहरु बताउँछन् । 

लगानीकर्ताका नेताहरुले विभिन्न समयमा अर्थमन्त्री डा. युवराज खतिवडालाई भेट गरिरहेका छन् । सो क्रममा डा. खतिवडाले आफूले समग्र अर्थतन्त्र सुधारका लागि धेरै काम गरेको र यसको परिणाम ६ महिनाभित्र देखिने र त्यसले सेयर बजारमा समेत सकारात्मक प्रभाव पार्ने बताइरहेका छन् । यसले पनि लगानीकर्ताको मनोबल बलियो बन्न केही सहयोग गरेको देखिन्छ । 

सोमबार नेप्से परिसूचक र कारोबार रकम नै बढेको छ । विश्लेषकहरुले परिसूचक र टर्नओभर एकसाथ बढ्नुलाई सुखद भविष्यको संकेत समेत भन्ने गर्छन् । तर, यस्तो प्रवृति केही दिनसम्म निरन्तर भए मात्र बजार दुवै पक्षबाट बलियो बन्दैछ भन्न सकिन्छ । 

सोमबार क वर्गका कम्पनीहरुमा उच्च खरीद चाप देखिएको छ । यहीकारण क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.०७ अंकले बढेको छ । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.२३ अंकको बढोत्तरी भएको छ । 

यो दिन होटल र अन्य समूहमा झिनो गिरावट आए पनि बाँकी सबै समूहको सूचक हराभरा भए । होटल समूह २.२६ अंकले घटेको यो दिन अन्य समूहमा ०.३ अंकको गिरावट आयो ।

यो दिन बैंकिंग समूह १५.६९ अंकको बढोत्तरी भएको छ भने विकास बैंक समूह १२.७२ अंक, जलविद्युत समूह १९.९८ अंक, निर्जीवन बिमा समूह ९६.६६ अंक, जीवन बिमा समूह ७२.४८ अंक, उत्पादनमूलक ९३.२ अंक, माइक्रोफाइनान्स समूह ३.३ अंक र बित्त समूह ४.५ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६९ कम्पनीका १८ लाख ९८ हजार ३ सय ५ कित्ता सेयर ५४ करोड ६० लाख २१ हजार ७ सय १९ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ८३ लाख बढीको सेयर कारोबार भयो । 

एनआइसी एशिया बैंकले ३ करोड ३६ लाख बढीको कारोबार गरेको यो दिन एनएमबी बैंकले २ करोड ४७ लाख, नेपाल बैंकले १ करोड ९० लाख, कुमारी बैंकले १ करोड ६३ लाख, जनता बैंकले १ करोड ५६ लाख, सानिमा बैंकले १ करोड ३३ लाख, मेगा बैंकले १ करोड २१ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड १५ लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा प्राइम कमर्सियल बैंकले मात्र एक करोड भन्दा कम अर्थात ९३ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
एभरेष्ट बैंकसँग मर्जरमा जाने भगिरथ प्रयत्नमा रहेको लक्ष्मी बैंकको मूल्य १० प्रतिशतले वृद्धि भएपछि कारोबारको एकघण्टामै पोजिटिभ सर्किट ब्रेकर लगाउनुपर्यो । 

आकर्षक लाभांश घोषणा गरेको काबेली विकास बैंकको मूल्य समेत १० प्रतिशतकै हाराहारीमा बढ्यो । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ८.४८ प्रतिशतको वृद्धि भयो । 

यो दिन ङादी ग्रुप पावर लिमीटेडको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा घट्यो ।