– प्रकाश न्यौपाने

काठमाण्डौ । अर्थतन्त्रमा जटिल अवस्थाका बाबजुद राम्रा र बलिया कम्पनीमा लगानी गर्ने लगानीकर्ताले नै दीर्घकालमा मनग्य कमाउँछन् भन्ने प्रशस्त उदाहरण छन्। विगतमा पनि आर्थिक संकट हुँदा सेयर बजारमा समस्या देखिएको थियो। त्यस्तो बेला जो लगानीकर्ताले समस्यासँग जुधेर टिकेर बसे, तिनैले अवस्था सहज हुँदा मनग्य कमाए।

तिनै लगानीकर्तामध्ये एक हुन्, प्रकाश सापकोटा। नुवाकोट स्थायी घर भएका प्रकाश हाल काठमाण्डौको धापासीमा बसोबास गर्छन्। उमेरले उनी बल्ल २६ वर्ष पुगे। 

सामान्य परिवारमा जन्मेका प्रकाशले बाल्यकालमा धेरै अभाव भागेका थिए। उच्च शिक्षा हासिल गर्न काठमाण्डौ आएपछि पनि आर्थिक अभावका कारण थुप्रै संघर्ष गर्नुपर्यो। उनले सामान्य जागिर खाएर आफ्नो पढाइलाई अगाडि बढाएका थिए। 

नेपाल लाइफ इन्स्योरेन्समा अभिकर्ताको काम सुरु गरेका प्रकाश अहिले त्यही कम्पनीमा सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन्। धेरै संस्थामा आबद्ध प्रकाश बुद्धभूमि हाइड्रोपावर लिमिटेडका सञ्चालक पनि हुन्। 

सानै उमेरदेखि सेयर बजारका बारेमा चासो राख्ने प्रकाश २०७३ सालबाट दोस्रो बजारमा प्रवेश गरेको बताउँछन्। दुईवटा बियरिस र एउटा बुलिस बजार भोगेका प्रकाशले दोस्रो बजारमा युनाइटेड इन्स्योरेन्सको सेयर प्रतिकित्ता १४०० रुपैयाँमा खरिद गर्दा ठूलै घाटा व्यहोर्नुपर्यो। ‘बजार झर्दै जाँदा युनाइटेड इन्स्योरेन्समा प्रतिकित्ता ४०० रुपैयाँका दरले घाटा खाएर बेचेँ’, उनले भने। 

राम्रो अध्ययन पनि नभएको र बुल सकिएर बियर मार्केटमा पसेको हुनाले आफूले घाटा व्यहोर्नुपरेको प्रकाशले सुनाए। ‘बजार झर्दै आउँदा पुराना लगानीकर्ता र पत्रपत्रिकालगायतका माध्यमबाट अनुभव बटुल्दै अध्ययन गर्दै गएँ’, उनले भने, ‘बजार झरेर ११०० आसपास आउँदा थप लगानी गरेँ। ३२०० को बुलमा भने राम्रै नाफा कमाएँ।’

नेपाल लाइफ र शिखर इन्स्योरेन्सको सेयरमा भने छोटो समयमै आफूले राम्रै कमाएको प्रकाश बताउँछन्। ‘ती दुवै कम्पनीका सेयर प्रतिकित्ता करिब १४०० रुपैयाँ दरले किनेको थिएँ’, मीठो अनुभव सुनाउँदै उनले भने, ‘ती सेयर प्रतिकित्ता करिब २९०० रुपैयाँका दरमा बेचेँ।’ 

नाफा भएको केही रकमबाट आफूले काठमाण्डौको टोखामा घडेरी किनेको पनि प्रकाश बताउँछन्। सेयर बजारमा लगानी बढाउन प्रकाशले थुप्रै इन्भेस्टमेन्ट कम्पनी खडा गरी व्यावसायिक फड्को मारेका छन्। 

अहिले बजार धेरै झरिसकेको उल्लेख गर्दै प्रकाशले राम्रा कम्पनीहरुको सेयरमूल्य न्यून विन्दुमा आएको बताए। ‘यस्तो बेला बलिया र राम्रा कम्पनीका सेयर खरिद गरेर राख्नेले अब आउने बुलमा राम्रो नाफा कमाउन सक्छन्’, उनले भने, ‘जो सहन्छ, उही रहन्छ भन्ने भनाइमा रहेर यतिबेला बजारबाट भाग्नेभन्दा पनि सके सेयर थप्ने, नसके पनि होल्ड गरेर बस्ने बेला हो। जो बजारमा टिकेर बस्छ, उसैले कमाउने हो।’

आफूले विस्तारै लगानी बढाउँदै गएको पनि प्रकाशले बताए। ‘यतिबेला धेरै लगानीकर्ता डराएका छन। अरु डराउँदा आफू पस्ने र अरु रमाउँदा आफू निस्कने भन्ने सेयर बजारका चर्चित लगानीकर्ता वारेन्ट वफेटको भनाइलाई मैले अवलम्बन गरेँ’, उनले भने, ‘त्यही कारणले बजारबाट राम्रै नाफा कमाउन पनि सफल भएँ।’

केही वर्षपहिलेदेखि बजारको बुल र बियरलाई अध्ययन गर्दा हरेक बियरका आसपास धेरै घटेका बलिया कम्पनी नै बुलमा धेरै बढेको देखिएको प्रकाश बताउँछन्। ‘११७५ को बुलमा माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै कमाए’, उनले भने, ‘१८८१ को बुलमा इन्स्योरेन्सका लगानीकर्ताले धेरै कमाए। ३२०० को बुलमा हाइड्रो र फाइनान्सका लगानीकर्ताले धेरै कमाए।’

अहिले वाणिज्य बैंकका सेयर निकै सस्तो रहेको उल्लेख गर्दै प्रकाशले अब आउने बुलमा यही सेक्टरका लगानीकर्ताले धेरै नाफा कमाउन सक्ने अनुमान गर्छन्। ‘कम्पनीको राम्रो अध्ययन गरेर बजारको बियर र बुल चिनेर पस्ने र निस्कन सक्ने लगानीकर्ताले बजारबाट मनग्य नाफा कमाउन सक्छन्’, उनले भने। 

प्रकाशले दुई तरिकाबाट लगानी गर्दै आएका छन्। ‘दीर्घकालीन र अल्पकालीन योजना बनाई लगानी गर्दा बुल मार्केटमा झनै कमाउन सकिन्छ’, उनले भने। 

नेपालको सेयर बजार विकासको बाटोमा लम्किँदै गरेको प्रकाश बताउँछन्। ‘नयाँ स्टक एक्सचेन्ज र ब्रोकर कम्पनीहरु थपिँदैछन्’, उनले भने, ‘अब आउने दिनहरु लगानीकर्ताका लागि फलदायी र सुखद् हुन्छ।’