काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको सेयरमूल्यमा मंगलबार उछाल आएपछि पोजेटिभ सर्किट लागेको छ ।

कारोबार सुरु भएको डेढ घन्टा नबित्दै युनाइटेड इन्स्यारेन्सको सेयरमूल्यमा झन्डै १० प्रतिशत अर्थात प्रतिकित्ता झन्डै ३० रुपैयाँका दरले बढेपछि पोजेटिभ सर्किट लागेको हो । यो कम्पनीको सेयरमूल्य मंगलबार प्रतिकित्ता ३२९ रुपैयाँ पुगेको छ । हिजो सोमबार यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता २९९.१२ रुपैयाँ थियो । 

यो समाचार तयार पर्दासम्म डेप्थ मार्केटमा कम्पनीको ३३ हजार ४७४ कित्ता सेयर खरिद पोस्ट भएको छ । जब बिक्रीतर्फ एउटा पनि पोस्ट परेको छैन । यसले कम्पनीको सेयर बिक्रीभन्दा पनि खरिद गर्नेको चाप बढी देखाएको छ । 

यसैगरी सिर्जना फाइनान्स (वित्तीय संस्था) लिमिटेडको सेयरमूल्यमा लगातार तीन दिनदेखि बढोत्तरी भइरहेको छ । मंगलबार पनि कम्पनीको सेयरमूल्यमा झन्डै १० प्रतिशतको हाराहारीमा बढेर प्रतिकित्ता २८५ रुपैयाँ पुगेको छ । कम्पनीको सेयरमूल्यमा मंगलबार प्रतिकित्ता २५ रुपैयाँले बढेको छ ।

हिजो सोमबार कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर प्रतिकित्ता अन्तिम मूल्य २६० रुपैयाँ पुगेको थियो । कम्पनीको सेयरमूल्यमा आइतबार पनि लगभग १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएको थियो ।

यता मार्केट डेप्थमा मंगलबार सिर्जना फाइनान्सको १ हजार ३० कित्ता सेयर खरिद पोस्ट भएको छ । बिक्रीतर्फ भने ३ हजार ४९८ कित्ता सेयर पोस्ट भएको छ । यसले कम्पनीको सेयर किन्नेभन्दा बेच्नेको संख्या बढी देखाएको छ ।