– अनन्त्य सुन्दर 

काठमाण्डौ । देशको राजनीतिक अवस्थाले गर्दा विगत केही सातादेखि नेपाली सेयर बजार रुमल्लिएको छ। बजार न त बढ्न सकेको छ। न त घट्न नै ! लगानीकर्तामा गठबन्धनको भविष्य, एमसीसी, चुनावलगायत अन्य विविध विषयले गर्दा अन्यौलता छाएको देखिन्छ।

अहिले चिया पसलदेखि लिएर ब्रोकर हाउसमा उपस्थित भएका लगानीकर्तामा एमसीसी पास होला कि नहोला ? एमसीसी पास भएमा बजारलाई कस्तो असर पर्ला ? हाइड्रो के होला ? जस्ता विषयमा नै छलफल र बहस हुने गरेको पाइन्छ।

ऊर्जा व्यवसायीदेखि लिएर अधिकांश लगानीकर्ता एमसीसी पास हुनेमा ढुक्क देखिन्छन्। पछिल्लो समयको हाइड्रो इन्डेक्स हेर्दा पनि त्यो झल्किन्छ। 

‘पछिल्लो समय नेप्से परिसूचक घट्दा पनि हाइड्रो बढेको छ’, एक लगानीकर्ता भन्छन्, ‘धेरैजसो लगानीकर्ताहरुको एमसीसी पास हुन्छ भन्ने अपेक्षा छ। एमसीसी पास भएको खण्डमा सबैभन्दा फाइदा हाइड्रो सेक्टरमा हुने भएकाले पनि लगानीकर्ता पछिल्लो समयमा हाइड्रोप्रति आकर्षित भएको देखिन्छ।’

ती लगानीकर्ताले भनेजस्तै अधिकांश लगानीकर्ता हाइड्रो क्षेत्रमा आकर्षित हुनुको कारण एमसीसी परियोजना र उक्त परियोजनाअन्तर्गत बन्ने प्रसारण लाइन रहेको छ। एमसीसी पास भएमा प्रसारण लाइन बन्ने र उत्पादन भएको विद्युत् सजिलै भारतमा बेच्न सकिने भएकाले जलविद्युत कम्पनीहरुको आम्दानी बढ्ने धेरै लगानीकर्ताहरुको धारणा छ।

हाइड्रो कम्पनीहरुमा लगानीकर्ताहरु आकर्षित हुँदै गर्दा युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावरप्रति भने लगानीकर्तामा विशेष आकर्षण भएको देखिन्छ। यसको कारण भने एमसीसी नभएर कम्पनीले हकप्रद सेयर निष्कासनको हल्ला रहेको छ।

चार दिनदेखि लगातार सर्किट

गत फागुन ४ मा २ हजार ९९० कित्ता सेयर कारोबार भएको युनाइटेड इदी–मर्दीको कारोबार रु ६४९ मा बन्द भएको थियो। अघिल्लो दिनको तुलनामा उक्त दिन कम्पनीको सेयर मूल्यमा १.६७ प्रतिशतको गिरावट आएको हो।

त्यसको भोलिपल्ट अर्थात् फागुन ५ देखि नै युनाइटेड इदी–मर्दीको सेयर लगानीकर्ताले धमाधम सेयर किनेको देखिन्छ। उक्त दिन कम्पनीको सेयर मूल्य ६.३२ प्रतिशतले वृद्धि भएर रु.६९० मा कारोबार बन्द हुँदा ५० हजार ६९६ कित्ता सेयर कारोबार भएको थियो। कम्पनीको उक्त दिनको कारोबार रकम हेर्दा उक्त दिनबाट नै बजारमा हकप्रद निष्कासनको हल्ला भएको बुझिन्छ।

फागुन ८, ९, १० र ११ गते युनाइटेड इदी–मर्दीको सेयरमूल्यमा हरेक दिन सर्किट लागेको छ। लगानीकर्ताले तँछाडमछाड गरेर सेयर किनेको देखिन्छ। कम्पनीको सेयरमूल्यमा ४ दिन सर्किट लाग्दा आज बजार बन्द हुँदा उक्त कम्पनीको सेयर मूल्य रु. १ हजार १० पुगेको छ। आजमात्र कम्पनीको सेयर मूल्य रु. ९१.८० ले बढेको हो।

गत फागुन ४ मा रु. ६४९ रहेको कम्पनीको सेयर मूल्य रु. ३६१ ले वृद्धि भएर आज रु. १ हजार १० मा कारोबार बन्द भएको हो। सात दिनमा नै कम्पनीको सेयर मूल्य ५५ प्रतिशतले बढेको छ।

किन किन्दै छन् त लगानीकर्ता युनाइटेड इदी–मर्दीको सेयर ?

‘सतप्रतिशत हकप्रद दिने हल्ला छ’, उक्त कम्पनीको सेयर किनेका एक लगानीकर्ता भन्छन्, ‘हकप्रद दिएपछि यसै पनि कम्पनीको सेयर मूल्य बढ्छ। एमसीसी पनि पास हुने देखिन्छ। त्यसैले कमाउने नै हाइड्रोबाट हो।’

‘हकप्रदको हल्ला गरेर केही खेलाडीले कर्नरिङ गरेको देखिन्छ’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘वित्तीय अवस्था कमजोर भएको साथै सप्लाई कम भएको सेयरमा चलखेल गर्न सकिने भएकाले खेलाडीहरुले त्यस्तै सेयर कर्नरिङ गर्छन्। लगानीकर्ताहरु पनि कम समयमै धेरै कमाउन सकिने भएकाले त्यस्तै कम्पनीमा लगानी गर्न रुचाउँछन्।’

अहिले सेयर बजारमा खेलाडीहरुलाई कमाउन सजिलो छ। ‘५–७ जना खेलाडी मिलेर सजिलै मूल्यमा खेल्न गरेको पाइन्छ। खेलाडीहरुले पहिला सेयर किन्ने अनि हकप्रद र बोनसको हल्ला गर्ने गरेका छन्’, ती ब्रोकर सञ्चालकले भने, ‘त्यसका साथै वित्तीय अवस्थाले नै कमजोर हाइड्रो कम्पनीहरुको सञ्चालक नै चलखेल गरेर सेयर बेच्ने गरेको बेथिति बढ्दो छ। यस्ता गतिविधिहरु नियामकले नियमन गर्नुपर्छ।’

के भन्छन् त हकप्रदबारे युनाइटेड इदी–मर्दीका सञ्चालक ?

युनाइटेड इदी–मर्दीका कार्यकारी निर्देशक सुनिल नारायण श्रेष्ठ हकप्रदसम्बन्धी कुनै निर्णय नभएको बताउँछन्। ‘अहिलेसम्म बोर्डबाट सेयरमूल्यलाई प्रभाव पर्ने गरी कुनै पनि आन्तरिक निर्णय भएको छैन’, उनले भने, ‘हाम्रो नियमित बोर्ड बैठक भने एक महिना अगाडि बसेको थियो। उक्त बैठकमा कुनै त्यस्तो निर्णय भएको थिएन।’

के भन्छन् त अग्रज लगानीकर्ता ?

सेयर बजारका सक्रिय लगानीकर्ता तिलक कोइराला सेयर बजारमा मूल्य भनेको डिमान्ड र सप्लाइले निर्धारण गर्ने बताउँछन्। ‘जोखिम लिएर लगानीकर्ताहरुले सेयर किन्न पाउँछन्। तर, लगानीकर्ताहरुलाई चाहिने सूचना समयमा सार्वजनिक नगरेमा इन्साइडर ट्रेडिङ, चलखेल भएमा नियामक निकायको चासोको विषय बन्नुपर्छ’, उनले भने।

‘साना कम्पनीको मूल्यमा भारी अंकको उतारचढाव हुन्छ। बजारलाई स्वस्थ र पारदर्शी बनाउन नीति नियम बनाएर समयमा नै कार्यान्वयन हुनुपर्छ’, कोइरालाले भने, ‘सेयर बजार जोखिमको क्षेत्र भएकाले हरेक सानाठूला लगानीकर्ताले अध्ययन साथै विश्लेषण गरेरमात्र लगानी गर्नु पर्छ। कसैको भनेकै भरमा सेयर बजारमा कारोबार गर्दा डुबिन्छ।’

आफूले ४–५ वर्ष अघिदेखि नै हकप्रदको पछि लाग्न नहुने भनेर लेख्दै र बोल्दै आएको कोइराला बताउँछन्। ‘त्यसबेला हकप्रद भनेको उल्टै लगानीकर्ताबाट पैसा असुल्ने हो, मलाई गाली र धम्की प्रशस्त आए। पछि बजारमा तिनै हकप्रदको पछि दगुर्ने लगानीकर्ताहरु फसे’, उनले भने।

अघिल्लो बुलमा एभरेस्ट, स्ट्यान्डर्डको हकप्रदको पछि लाग्ने लगानीकर्ताको हालत अहिले के छ ? प्रश्न गर्दै कोइराला भन्छन्, ‘अप्रमाणित वा प्रमाणित हकप्रदको हल्लाको पछि लाग्ने लगानीकर्ताहरु फस्ने नै हो। त्यसैले हकप्रदभन्दा पनि वित्तीय अवस्था राम्रो भएको कम्पनीहरु छनौट गरेर लगानी गर्नुपर्छ।’