काठमाण्डौ । युनिक नेपाल लघुवित्तको नाममा ११ लाख बढी कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। 

नेप्सेमा सूचीकृत नरहेको युनिक नेपाल लघुवित्त र साबिक घोडीघोडा लघुवित्त आपसमा गाभिएपछि कायम ११ लाख ६ हजार ३२५ कित्ता सेयर युनिक नेपाल लघुवित्तको नाममा सूचीकृत भएको छ। जसमा युनिक नेपालको ९ लाख ६८ हजार ३२५ कित्ता र घोडीघोडा लघुवित्तको १ लाख ३८ हजार १२५ कित्ता छन्। 

नेप्सेका अनुसार साबिकको घोडीघोडा लघुवित्तको संस्थापक र सर्वसाधारण सेयरधनीका नाममा रहेको १ लाख ३८ हजार १२५ कित्ता सेयर अब युनिक नेपाल लघुवित्तको नामबाट कारोबारमा आउनेछ। युनिक नेपालको संस्थापक समूहको ९ लाख ६८ हजार २०० कित्ता सेयर भने थप सार्वजनिक निष्कासन सम्पन्न नभएसम्म कारोबार गर्न नपाउने गरी सूचीकरण गरिएको नेप्सेले जनाएको छ। 

त्यसैले आउँदो सोमबार (फागुन ८ गते)बाट १ लाख ३८ हजार १२५ कित्ता सेयरमात्र कारोबारमा आउनेछ। यसका लागि नेप्सेले कारोबार संकेत यूएनएलबी र प्रतिकित्ता न्यूनतम ३२९.८३ रुपैयाँदेखि अधिकतममा ९८९.४९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। यो रेन्जभित्र प्रिओपसन सेसनमा सेयर किनबेच भएमा नियमित समयका लागि कारोबार खुल्नेछ।