काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेडको माघ ११ गते सम्पन्न विशेष साधारणसभाले ९६.६१ करोड बराबरको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)को प्रस्ताव पारित गरेको छ । 

काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा सम्पन्न साधारणसभाले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणलाई गरी आइपीओ जारीको प्रस्ताव पारित गरेको हो । 

यस अन्तर्गत रु. १००।– का दरले ९६,६१,६१०(छ्यानब्बे लाख एकसठ्ठी हजार छ सय दश) कित्ता शेयर सर्वसाधारणका लागि जारी हुने कम्पनीले जनाएको छ । 

यसमध्ये प्रथम चरणमा जारी पूँजीको १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लाका स्थानिय बासिन्दाका लागि २१,००,३५० (एक्काईस लाख तीन सय पचास) कित्ता शेयर निष्कासन गर्ने छ । यसैगरी, दोस्रो चरणमा ७५,६१,३६० (पचहत्तर लाख एकसठ्ठी हजार तीन सय साठ्ठी) कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ ।

कम्पनीले सर्वसाधारणलाई सार्वजनिक शेयर निष्कासन गर्नको लागि सिद्घार्थ क्यापिटल लिमिटेडसँग सेयर निश्कासन तथा बिक्री प्रबन्धकका लागि माघ ७ गते सम्झौता पनि गरिसकेको छ ।

कम्पनीले अब केही दिनभित्रै आइपीओ निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिनेछ ।

यूनिभर्सल पावर कम्पनी लिमिटेडले सोलुखुम्बु जिल्लामा अवस्थित इङ्खु खोलामा २४.२२ मे.वा. क्षमताको माथिल्लो इङ्खु जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र गत मंसीर २५ मा र मनाङ्ग जिल्लामा अवस्थित नार खोलामा ३१.७७ मे.वा. क्षमताको माथिल्लो नार जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र मंसीर १४ मा प्राप्त गरिसकेको छ ।

युनिभर्सलले हाल दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । यही आयोजनाका लागि आइपीओ जारी  हुने भएको हो । आयोजनाको लागत खर्च २ अर्ब माथि हुने प्रारम्भिक अनुमान छ । कम्पनीमा ८८ प्रतिशत सेयर स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ ।