काठमाण्डौ । युनियन हाइड्रोपावर कम्पनी लिमीटेडले सर्वसाधारणका लागि निश्कासन गरेको आइपीओमा पहिलो दिन ५ करोडको हाराहारीमा आवेदन परेको छ । 

आइपीओ निश्कासन भएको पहिलो दिन बुधबार करिब ५ हजार ३०० आवेदकबाट ५ लाख कित्ता माग गर्दै आवेदन परेको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ । 

क्यापिटलका अधिकारीहरुले पहिलो दिन आइपीओमा न्यून आवेदन पर्ने प्रवृति अनुसार युनियनको आइपीओमा परेको ५ करोड रुपैयाँ बराबरको आवेदनलाई सन्तोषजनक भनेका छन् । 

यो कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ आजदेखि निश्कासन गरेको छ । 

आइपीओमा छिटोमा चैत १७ गते र ढिलोमा बैशाख १२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

इच्छुकले न्यूनतम ५० देखि अधिकतम ३५००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँ दरले सेयर निश्कासन हुने भएकोले साथमा ५ हजार रुपैयाँ हुनेले यो कम्पनीको सेयरमा आवेदन दिन सक्नेछन्।

यो कम्पनीले गत साउन १४ गतेदेखि आयोजना प्रभावितका लागि ७ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । तर, ६ लाख २१ हजार ७९० कित्ता बिक्री भएको थिएन । 

बिक्री नभएको सो कित्ता समेत जोडेर सर्वसाधारणका लागि ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ निश्कासनका लागि धितोपत्र बोर्डले माघ २८ गते कम्पनीलाई अनुमति दिएको थियो । 

यसअघि सर्वसाधारणका लागि २९ लाख १२ हजार ५ सय कित्ता सेयर छुट्याइएको थियो ।

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमीटेड रहेको छ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फाइभको रेटिङ दिएको छ, जसको अर्थ कम्पनीको अवस्था कमजोर छ भन्ने हो । 

युनियन  हाइड्रोपावरले ३  मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजना निर्माण पूरा भई २०७४ माघ १५ गतेदेखि व्यापारिक उत्पादन सुरु भइसकेको छ । यो कम्पनीले २३ मेगावाटको मेगाखोला प्रोजेक्ट निर्माणको समेत अनुमति पाइसकेको छ ।

यो आयोजनाको कुल लागत ७९ करोड ४० लाख रहेको छ । प्रति मेगावाट लागत मूल्य २६ करोड ५० लाख हुने अनुमान गरिएको छ । आइपीओपछि कम्पनीमा प्रमोटर र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१.१६ः ४८.८३ प्रतिशत कायम हुनेछ ।