काठमाण्डौ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दूमा पुगेको छ । योसँगै नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ । 

नेपाल राष्ट्रबैंकका अनुसार जारी नोभेम्बर महिनाको ११, १२ तथा २१ तारिखका दिन रेकर्ड अमेरिकी डलरको हालसम्मकै उच्च मूल्यलाई समेत पार गर्दै बुधबार नयाँ उचाई चुमेको हो । 

मंगलबारका लागि केन्द्रीय बैंकले अमेरिकी डलरको खरीद दर १३३.०५ रुपैयाँ तथा बिक्रीदर १३३.६५ रुपैयाँ तोकेको थियो । बुधबार भने डलरको भाउले १३३.६८ रुपैयाँको सर्वाधिक उचाई चुमेको हो । बुधबारका लागि डलरको खरीद दर १३३.०८ रुपैयाँ र बिक्रीदर १३३.६८ रुपैयाँ पुगेको छ । 

अमेरिकी डलरसँगै यूरोपियन यूरो, यूके पाउण्ड स्टर्लिङ, अस्टेयिन, सिंगापुर, क्यानेडियन डलरको भाउ समेत सर्वाधिक महंगो भएको छ । 

अमेरिकी र अन्य मुख्य मुद्रासँग नेपाली रुपैयाँको अवमूल्यन बढ्दै जाँदा नेपालजस्तो कमजोर आर्थिक अवस्था भएको तथा आयात व्यापारमा निर्भर अर्थतन्त्रका लागि निकै ठूलो सकस हुन्छ । तर, नेपाल भित्रिने रेमिटान्समा भने निकै ठूलो टेवा पुग्छ । 

सरकारले अन्तराष्ट्रिय निकाय तथा नियोगहरुबाट लिने ऋण अमेरिकी लगायत  विभिन्न डलरमै स्वीकार गर्ने भएकोले यसको भाउ बढ्दा ऋण तथा त्यसको नियमित ब्याज तिर्न सकस पर्छ । डलर महङ्गिँदा त्यस्तो लागत बढ्न जान्छ । 

विभिन्न देशबाट विभिन्न सामान आयात गर्दा डलर नै चाहिने भएकोले त्यस्तो आयात महङ्गो पर्न जान्छ । जसका कारण नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्र सकसमा पर्नसक्छ । 

तर, नेपाली अर्थतन्त्रको मेरुदण्ड रेमिटान्स पनि भएकोले त्यसमा पनि टेवा पुग्नेछ । विभिन्न देशमा काम गर्ने नेपाली कामदारहरुले डलरमै भुक्तानी पाउने भएकोले उनीहरुले नेपाल पैसा पठाउँदा त्यो बढ्न पुग्छ ।

हुन त नेपाली रुपैयाँको अमेरिकी डलरसँग सोझो सम्बन्ध भने छैन । भारतीय रुपैयाँसँगको विनिमय दरका आधारमा अमेरिकी डलरको विनिमय दर निर्धारण हुने गर्छ । यसको अर्थ भारतीय रुपैयाँ जति कमजोर भयो त्यसले नेपाली रुपैयाँलाई थप कमजोर बनाउँछ भने भारु बलियो बन्दा नेपाली रुपैयाँ पनि बलियो बन्न पुग्छ । भारु १०० को नेपाली रुपैयाँसँगको विनिमय दर रु। १६० रहेको छ । लामो समयदेखि भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम छ ।