काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीसहित तीन कम्पनीको आईपीओ यसै साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने सम्भावना रहेको छ। 

नेप्सेमा घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गे हाइड्रोपावरको आईपीओ यसै साता सूचीकरणको तयारी भइरहेको हो। ‘तीनवटै कम्पनीको फाइल नेप्सेमा आइसकेको छ, अहिले सूचीकरणका लागि आवश्यक काम भइरहेको छ’, नेप्सेका एक अधिकारीले भने, ‘सम्भवतः यही साताभित्रै तीनवटै कम्पनीको सेयर कारोबारमा आउन सक्छ।’

एक–दुई दिनभित्रै सूचीकरणको काम भएमा यही साताबाटै तीनवटै कम्पनीको सेयर कारोबारमा आउन सक्ने पनि ती अधिकारीले बताए। 

घोराही सिमेन्टले गत जेठ ३२ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। फर्जी आवेदन परेपछि असार ४ गते स्थगित गरिएको यो आईपीओ फेरि फुकुवा गरी असार २५ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। 

कम्पनीले सर्वसाधारणका लागि कुल ६९ लाख ११ हजार ६७० कित्ता खुला गरिएको थियो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारी छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको थियो। कम्पनीले १०० अंकित दरमा ३३५ रुपैयाँ प्रिमियर थपेर ४३५ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको थियो। 

घोराही सिमेन्टको आईपीओ गत असार ३१ गते बाँडफाँड गरिएको थियो।

यसैगरी थ्रीस्टार हाइड्रोपावरले गत असार ५ गतेदेखि असार ८ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। यो कम्पनीले कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएर बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको थियो।

थ्रीस्टार हाइड्रोपावरको आईपीओ गत असार १९ गते बाँडफाँड गरिएको थियो। 

उता गत असार १० गतेदेखि असार १३ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको थियो। बाँकी ५ लाख ३९ हजार ५०० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो।

यो आईपीओको बाँडफाँड गत असार २२ गते गरिएको थियो।