काठमाण्डौ । अघिल्लो हप्ता खहरे खोला झै उर्लिएको बिमा समूहको आइतबारदेखि सुरु गिरावट यात्रा बुधबार पनि जारी रह्यो । बिमा समूहमा ग्रहण लाग्दा बैकिङ समूहमा यो दिन सामान्य मात्र सुधार देखियो । बैंक र बिमा केन्द्रीत बजारमा केही दिनअघिदेखि अनौठा प्रवृतिहरु देखिन थालेको छ । 

लगानीकर्ताहरुले छानी–छानी विभिन्न समूहको सेयर खरिदारी बढाएपछि हरेक दिनजसो अलग–अलग समूहको दबदबा देखिन थालेको छ । बजारले कुन दिन कसरी रंग फेर्ने हो भन्ने कुराको अनुमान लगाउन लगानीकर्तालाई हम्मे–हम्मे परेको देखिएको छ । 

अघिल्लो हप्तासम्म बिमाको दबदबा रहेको बजारमा यो साताको चार कारोबार दिनसम्म एक दिन होटल समूह, अर्को दिन विकास बैंक समूहको दबदबा देखियो । बुधबार भने बित्त समूहका लगानीकर्ताले कुस्त कमाए । यो समूहको सूचकमा ४.११ प्रतिशतको उछाल देखियो । 

तर, आइतबारदेखि झिनो अंकले नेप्से परिसूचक बढ्नुु र कारोबार रकम चाहि एकअर्ब माथि नै मेन्टेन भइराख्नुुले आगामी दिनमा बजारमा उछाल आउनसक्ने संभावनालाई बुधबारको बजार प्रदर्शनले थप बलियो बनाइदिएको छ । 

यो दिन नेप्से परिसूचक २.४९ प्रतिशतले बढेर १६६२.७४ विन्दूमा पुुगेको छ भने कारोबार रकम १ अर्ब ३ करोड माथि पुुगेको छ । 

वाणिज्य बैंक(बैकिङ) समूह १.५६ अंकले बढेको छ । यस्तै, होटल समूह १४.०३, विकास बैंक समूह १२.०५ र बित्त समूह ३१.७७ अंकले बढेका छन् । 

बिमा समूहको सूचक यो दिन सबैभन्दा धेरै घटेको छ । यो समूह ४९.५२ अंकले ओरालो लाग्यो । यस्तै, जलविद्युत समूह २.६३, उत्पादनमूलक ३.३७ र अन्य समूह ०.५८ अंकले घटेका छन् । 
बजारमा सामान्य बढोत्तरी देखिए पनि क वर्गका कम्पनीमा लगानीकर्ताको आकर्षण लगातार कायम रहेको देखिएको छ । यहीकारण बुधबार पनि सेन्सेटिभ इण्डेक्स ०.८ अंकले बढेको छ । यस्तै, फ्लोट इण्डेक्समा ०.२ अंकको बढोत्तरी देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार बजारमा १ सय ५७ कम्पनीका कुल १७ लाख ७९ हजार ६ सय ८० कित्ता सेयर १ अर्ब ३ करोड ९० लाख ४ हजार ३ सय ५९ रुपैयाँमा खरीद बिक्री भयो । बुधबार पनि सबैभन्दा बढी कारोबार नेपाल ग्रामीण विकास बैंकले गर्यो । यो कम्पनीको मात्र ८ करोड ४८ लाख बढीको सेयर कारोबार भयो । मुक्तिनाथ विकास बैंकले ४ करोड ९६ लाख, ओरिएन्टल होटल लिमीटेडले ३ करोड ३६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ७ लाख, फरवार्ड माइक्रो फाइनान्सले ३ करोड ६ लाख बढीको कारोबार गरे । यस्तै, रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टरले २ करोड ६६ लाख, प्राइम लाइफ इन्स्योरेन्सले २ करोड ६० लाख, एभरेष्ट बैंकले २ करोड ४३ लाख, हिमालयन डिस्टीलरीले २ करोड ४० लाख बढीको कारोबार गरे । छिमेक लघुवित्त विकास बैंकले पनि यो दिन २ करोड २४ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था, कुुबेर मर्चेन्ट एण्ड फाइनान्स लिमीटेड, मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले कुस्त कमाए । यी तीनवटै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीले वृद्धि भयो । वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्सले ९.४२ प्रतिशतले सम्पत्ति बढायो भने नागरिक लगानीकोषको मूल्य समेत ९ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

यो दिन सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीले गुमायो । यो कम्पनीको सेयर मूल्य ५.२७ प्रतिशतले घट्यो ।