काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई सरकारले नदोहोर्‍याए आफू बोर्डको भावी अध्यक्षको आकांक्षी रहेको बताएका छन् । 

बिजशालासँग कुरा गर्दै साउदले सरकारले बोर्ड अध्यक्ष हमाललाई दोहोर्याउने सम्भावना व्यक्त गर्दै यदि यो अवस्था आएन भने आफू धितोपत्र बोर्डको भावी अध्यक्षको प्रमुख दाबेदार रहेको बताएका हुन् । 

‘मेरो बुझाईमा रमेश हमाल जीले छोटो कार्यकालमा बजार सुधारका लागि राम्रो काम गर्नुभएको छ । सरकारले उहाँलाई नै निरन्तरता दिने सम्भावना पनि देखेको छु ।’ उनले भने–‘तर उहाँले आफूलाई दोहोरिने इच्छा नभएको कुरा यदाकदा मिडियामा गरेको समेत सुनेँ । यदि उहाँलाई सरकारले नदोहोर्याउने र बोर्डका भावी अध्यक्षका लागि सबै पक्षको सहयोग रहने भने म नेतृत्व लिन तयार छु ।’ 

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल सकिन अब डेढ पनि बाँकी छैन । भावी अध्यक्षको विषयमा विभिन्न अनुहारहरुको चर्चा भइरहेको बेला प्रमुख दाबेदारमध्येको एक मानिएका साउदले सार्वजनिक रुपमै आफ्नो धारणा पहिलोपटक व्यक्त गरेका हुन् । 

उनले खुल्ला प्रतिस्पर्धा हुने अवस्था आयो र आफ्नो टिमले ‘तपाईं बोर्डको अध्यक्षमा जानुस्’ भन्यो भने आफू तयार रहेको बताए । तर, उनले कुन टिमको कुरा गरेका हुन् भन्ने चाहिँ खुलाएनन् । 

विभिन्न व्यापारिक र व्यवसायिक स्वार्थ समूहले तयार गरेका पात्रहरु यसअघि धितोपत्र बोर्डका अध्यक्ष बन्दै आएका छन् । व्यवसायिक घरानाहरुको विभिन्न स्वार्थ पूरा गर्ने वाचासहित आफ्नो विश्वासपात्रलाई करोडौं लगानी गरी बोर्ड अध्यक्ष बनाउने र उनीहरुलाई कार्यकालभरी आफू अनुकुल परिचालन गरी अरबौं कमाउने गरेका छन् । 

धितोपत्र बोर्डको हालको अध्यक्ष रमेश हमाल पनि शंकर समूह लगायतको व्यवसायिक घरानाबाट प्रायोजित पात्र मानिन्छ । बोर्ड अध्यक्ष भएपछि हमालले आफूलाई नियुक्तिको बेला प्रायोजन गर्ने यिनै समूहहरुलाई हित हुने गरी विभिन्न निर्णयहरु गराउँदै आएका छन् । 

हिमालयन रि इन्स्योरेन्स लगायतका कमजोर कम्पनीहरुलाई प्रिमियममा आइपीओ निश्कासन गर्नका लागि अनुमति दिनेदेखि नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रियाका सुरुवात समेत हमालले आफ्ना प्रायोजकहरुका लागि गरिरहेका चर्चा चल्ने गरेको छ । 
एक विश्वस्त स्रोतका अनुसार हमालको कार्यकाल थप हुने या नहुने भन्ने विषय नयाँ स्टक एक्सचेञ्जमा गएर अड्किएको छ । यदि हमालले अब बाँकी रहेको कार्यकालमै नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनका लागि सैद्धान्तिक सहमति(एलओआई) दिनसम्म भ्याए भने उनी पदमा नदोहोरिन सक्छन् । तर, अरबौंको खेल भएको ठानिएको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स स्वीकृतिको विषयले गति लिएन भने उनलाई स्वार्थ समूहहरुले माथिसम्मै सेटिङ गरेर पुनः अध्यक्ष बनाउने निश्चित झै छ । 

भावी अध्यक्षको दाबेदार मानिएका साउदले समेत आफ्नो टिमले भनेमा मात्र जान तयार रहेको भनी यस्तै समूह वा सेटिङतर्फ संकेत गरेका हुनसक्छन् । 

साउदले बिजशालासँगको कुराकानीमा आफू बोर्ड अध्यक्ष भएमा धितोपत्र बजारको कायापलट गरिदिने समेत उद्घोष गरेका छन् । ‘यदि मलाई नेतृत्व दिइयो भने सरकारलाई वार्षिक ५० अर्बसम्मको राजश्व सजिलै जुटाउने व्यवस्था गरिदिन्छु ।’ उनले भने–‘बजारमा गर्नुपर्ने सुधारका काम धेरै छन् । ठूला लगानीकर्तालाई बजारमै अडिने अवस्था बनाई साना लगानीकर्तालाई मालामाल बनाउने गरी नीति बनाएर नेपालको धितोपत्र बजारलाई भरपर्दो, विश्वसनीय र सरकारले समेत ठूलो राजश्व पाउने स्रोतको रुपमा विकास गर्न सकिन्छ।’ 

उनले बजारमा हुने दैनिक कारोबार र चलखेल ट्रयाक गर्ने बलियो अलग्गै सिस्टम धितोपत्र बोर्डमा विकास हुनुपर्नेमा समेत जोड दिए । ‘सिस्टमका लागि नेप्सेको भर गरेर हुँदैन । अब बोर्ड आफैंले पनि बलियो आइटी सिस्टमसहितको छुट्टै सेल बनाउनुपर्छ । यस्तो सिस्टम होस्, कसैले गलत गर्न खोज्यो भने त्यो तत्काल थाहा होस् र दोषीलाई कारबाही गर्न सकियोस् ।’ हाल आफ्नै इन्भेष्टमेन्ट कम्पनी चलाइरहेका साउदले भने–‘गैरकानूनी काम भएमा त्यसलाई सिस्टमले नै ट्रयाक गर्ने र बोर्डको कन्ट्रोल रुममा साइरन बज्नेसम्मको सिस्टम विकास गर्न सकिन्छ ।’