काठमाण्डौ । रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीले सर्वसाधारणका लागि आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएका छन् । 

लगानीकर्ताको रोजाईमा परेका यी दुई कम्पनीले सर्वसाधारणका लागि आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । 

रसुवागढी हाइड्रोले मंसिर २८ गते नै १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको आइपीओ निश्कासनको माग गर्दै आवेदन दिएको छ । 

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । 

यस्तै, साञ्जेन जलविद्युत कम्पनी लिमीटेडले पुस ४ गते ५४ करोड  ७५ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासनको माग गर्दै आवेदन दिएको छ । 

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानीकोष रहेको छ । 

यी दुवै कम्पनी चिलिमे जलविद्युत कम्पनीका सहायक कम्पनी हुन् । 

रसुवागढीले पहिलो चरणको साधारण शेयर निष्काशन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी झण्डै रु एक अर्ब ७५ करोड बराबरको साधारण शेयर बिक्री गर्ने योजना अनुसार सर्वसाधारणका लागि सेयर निश्कासनको प्रक्रिया अगाडि बढाएको हो । 

कम्पनीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । रसुवागढीले कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ । 

कूल रु १३ अर्ब ६८ करोड लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी ३ दशमलव ५ प्रतिशत एवं सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत लगानी रहनेछ । 

साञ्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत रु सात अर्ब बढी रहेको छ ।