काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमीटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले सर्वसाधारणका लागि बैशाख ६ गतेदेखि जारी गर्न लागेको आइपीओ बाँडफाँड लगत्तै दोश्रो बजारमा सूचिकरण हुने भएको छ । 

आम लगानीकर्ताहरुमा आयोजना प्रभावितलाई सेयर निश्कासन नभई यी दुई आयोजनाको सेयर नेप्सेमा सूचिकृत हुँदैन कि भन्ने संशय रहेको देखिएको छ । यो संशयलाई चिर्दै धितोपत्र बोर्ड, बिक्री प्रबन्धक र दुवै आयोजना अधिकारीहरुले सर्वसाधारणका लागि जारी सेयर बाँडफाँडको केही दिनपछि नै दोश्रो बजारमा सूचिकृत हुने प्रष्ट पारेका हुन् । 

'दोश्रो बजारमा सूचिकृत हुनका लागि आयोजना प्रभावितलाई सेयर बाँडफाँड गर्ने समयसम्म पर्खिनु पर्दैन ।' साञ्जेन जलविद्युत आयोजनाका कम्पनी सचिव सुशान्त बास्तोलाले बिजशालसँग भने-'आइपीओ निश्कासनपछि एकदेखि डेढमहिनाभित्रै सेयर सूचिकरण हुन्छ । ढुक्क भएर आइपीओ भर्दा हुन्छ ।' 
 
यी दुई आयोजना आइपीओ निश्कासनको अन्तिम चरणमा आएर जनताको जलविद्युत कार्यक्रममा समेटिएका आयोजना हुन् । जनताको जलविद्यूत कार्यक्रम अन्तर्गतका अन्य आयोजनको सेयर किन्न प्रतिसेयर १० रुपैयाँको दरले बैना गरे पुग्छ । तर, साञ्जेन र रसुवागढीको काम भने ५० प्रतिशत सकिइसकेकोले यी दुवै आयोजनाले १०० रुपैयाँ अंकित दरले सेयर निश्कासन गर्नेछन् । धितोपत्र बोर्डको नयाँ व्यवस्थाअनुसार यी दुवै आयोजनामा न्यूनतम १० कित्ताका लागि समेत आवेदन दिन सकिनेछ । 

दुवै कम्पनीको आइपीओ खरीदका लागि छिटोमा बैशाख १० गतेभित्र र ढिलोमा जेठ ५ गतेभित्र आवेदन दिनुपर्नेछ । 

रसुवागढीमा अधिकतम ५ हजार कित्ता र साञ्जेनमा अधिकतम २००० हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । 

कति आउँदैछ आइपीओ ?
साञ्जेन जलविद्युत कम्पनी लिमीटेडले १०० रुपैयाँ अंकित दरका ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता सेयर निश्कासन गर्नेछ । कुल निश्कासितमध्ये २ लाख १९ हजार कित्ता कम्पनीका कर्मचारीका लागि, २ लाख ७३ हजार ७५० कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ४९ लाख ८२ हजार २५० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

यस्तै, रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले पनि १०० रुपैयाँ अंकित दरले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको  १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ निश्कासन गर्नेछ । कुल निश्कासन हुने कित्तामध्ये ४ लाख १० हजार ५२६ कम्पनीका कर्मचारीका लागि, ५ लाख १३ हजार १५७ म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ९३ लाख ३९ हजार ४६७ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

साञ्जेन र रसुवाले निश्कासन गर्न लागेको आइपीओलाई इक्रा नेपालले ग्रेड फोर प्लसको रेटिङ दिएको छ । इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।

जनताको जलविद्युत कार्यक्रममा समेटिने कम्पनीलाई धितोपत्र बोर्डले रेटिङ अनिवार्य भने गरेको छैन । 

साञ्जेनको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानीकोष रहेको छ भने रसुवागढीको सिद्धार्थ क्यापिटल रहेको छ । 

यी दुवै  कम्पनी चिलिमे जलविद्युत कम्पनीका सहायक कम्पनी हुन् ।

साञ्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत रु सात अर्ब बढी रहेको छ ।

रसुवागढीले कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ । 

कूल रु १३ अर्ब ६८ करोड लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी ३ दशमलव ५ प्रतिशत एवं सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत लगानी रहनेछ ।