काठमाण्डौ । भारतीय सेयर बजारमा ‘बिग बुल’ नामले परिचित राकेश झुनझुनवालाको निधन भएको छ। दिग्गज लगानीकर्ता राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा निधन भएको छ। 

झुनझुनवालालाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा ल्याइएको थियो। झुनझुनवाला २–३ साताअघि अस्पतालबाट डिस्चार्ज भएका थिए । ब्रीच क्यान्डी अस्पतालले वरिष्ठ व्यापारी झुनझुनवालाको मृत्यु भएको पुष्टि गरेको छ। आज बिहान ६ः४५ बजे अस्पतालले राकेश झुनझुनवालाको मृत्यु भएको पुष्टि गरेको हो।

झुनझुनवालालाई भारतको वारेन बफेट पनि भनिन्छ। उनको मृत्युको खबरले सबै स्तब्ध भएका छन्। उनको निधनको खबर यस्तो समयमा आएको हो जब उनले भर्खरै आफ्नै एयरलाइन सुरु गरेका थिए । जसको नाम अकासा एयर हो। 

आकाश एयरमा राकेश झुनझुनवाला र उनकी पत्नी रेखाको सबैभन्दा ठूलो सेयर छ। दुवैको कुल सेयर ४५.९७ प्रतिशत रहेको छ।

झुनझुनवालाले गत जुलाई ५ मा जन्मदिन मनाएका थिए। उनको आकस्मिक निधनको खबरले भारतीय सेयर बजार स्तब्ध भएको छ। 
झुनझुनवालाका बारेमा भनिन्थ्यो कि उनले माटो छोए पनि सुन बन्छ। 

झुनझुनवालाले ३६ वर्षअघि लगानी यात्रा सुरु गरेका थिए । त्यतिबेला उनले ५ हजार रुपैयाँमात्रै लगानी यात्रा सुरु गरेका थिए। आज उनको कुल सम्पत्ति करिब ४० हजार करोड रहेको छ। 

जुन स्टकमा झुनझुनवालाले हात हाल्थे, उक्त स्टकको भाउ रातारात उचाइमा पुग्थ्यो। यही कारणले गर्दा उनको हरेक चाललाई लगानीकर्ताले पछ्याउने गरेका थिए।

स्टक छनोटमा झुनझुनवालाले गहिरो अध्ययन गर्थे। जसलाई उनको प्रगतिले सत्य साबित गरेको । यही कारण उनी भारतको वारेन बफेटका रुपमा प्रसिद्ध थिए। 

कलेज पढ्दा झुनझुनवालाले सेयर बजारमा हात हालेका थिए। उनले इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्सबाट सीए गरेका थिए।

बुवाकै कारण सेयर बजारमा झुनझुनवालाको चासो थियो। उनका बुवा कर अधिकारी थिए। उनी प्रायः आफ्ना साथीहरुसँग सेयर बजारका बारेमा कुरा गर्थे।

झुनझुनवाला आरएआरई इन्टरप्राइजेज नामको निजी व्यापारिक फर्म चलाउँथे। उनले यसको सुरुआत २००३ मा गरेका थिए। यस कम्पनीको पहिलो दुई अक्षर ‘आरए’ उनको नाममा थियो भने अन्त्यको दुई अक्षर ‘आरआई’ उनकी पत्नी रेखाको नामको थियो। 

हालै राकेश झुनझुनवाला उड्डयन क्षेत्रमा प्रवेश गरेका थिए। –एजेन्सी