काठमाण्डौ । तिहारको तेस्रो दिन ऊर्जासचिव एवं नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्यायले फेसबुकमा स्टाटस लेखे ‘हिजो र आजको विद्युत् लोड व्यवस्थित गर्न सफल प्राधिकरणका राष्ट्र सेवकलाई बधाई ।’

यस वर्षको तिहार त्यसमा पनि मुख्य गरी लक्ष्मी पूजाको साँझ काठमाडौं उपत्यकाबासीले बत्ती गएको अनुभव नै गर्न पाएनन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

विगतमा छिनछिनमा बत्ती गएर उपभोक्ता हैरानीमा पर्थे । यस वर्ष त्यस्तो समस्या नै व्यहोर्नुपरेन । काठमाडौं उपत्यका वितरण केन्द्रका नो लाइटमा उपभोक्ताको गुनासो यस वर्ष शून्यप्रायः रहेको प्राधिकरणले जनाएको छ । कारण थियो प्राधिकरणले यस वर्ष विद्युत् आपूर्तिमा गरेको कुशल व्यवस्थापन ।

सबैभन्दा बढी माग हुने लक्ष्मीपूजाको साँझ प्राधिकरणले आफ्ना र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत् गृह पूर्ण क्षमतामा चलाउन लगायो । तिहारमा उद्योग कलकारखाना बन्द भएकाले पनि प्राधिकरणले विद्युत् व्यवस्थापनमा सहज भएको थियो । प्राधिकरणले काठमाडौं उपत्यकालाई तिहारमा मात्रै नभएर अरूबेला पनि लोडसेडिङमुक्त बनाउने तयारी गरेको छ । लोडसेडिङमुक्त बनाउन प्रणालीको अध्ययन गर्न प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक राजीव शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ ।

‘पहिलो चरणमा राजधानीलाई लोडसेडिङमुक्त बनाउन चाहन्छौँ, यो काम गर्न गाह्रो पनि छैन,’ घिसिङले भने, ‘यसको प्राविधिक पक्ष अध्ययन गर्न समिति गठन भइसकेको छ, समितिले दिने सुझाबका आधारमा उपयुक्त निर्णय गरिनेछ ।’

समग्र मुलकलाई लोडसेडिङमुक्त गरी ऊर्जामा आत्मनिर्भर बन्ने गरी काम भइरहेको उनले बताए । आन्तरिक उत्पादनले नपुगेपछि प्राधिकरणले भारतबाट विद्युत् आयात गरिरहेको छ । अर्थात् लोडसेडिङलाई कम गर्न भारतबाट विद्युत् आयात अनिवार्य छ ।

एक वर्षभित्रमा सुक्खायाममा लोडसेडिङ अधारभूत रूपमा र वर्षायामको लोडसेडिङ पूरै अन्त्य गर्न भारतबाट ५ सय ८० मेगावाट आयात गर्ने सरकारी योजना छ ।