काठमाण्डौ । राजनीतिक उथलपुथलले आज सेयर बजार पनि तरंगित भएको छ । ब्रोकर कमिसन घटाउने अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको निर्देशन र स्टक डिलरको धमाकेदार प्रवेशले यो साता सेयर बजार गुल्जार हुने आशाविपरीत अनपेक्षित रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि र त्यसलाई राष्टपतिले अनुमोदन गरिदिएपछि सेयर बजारमा पनि ठूलो अत्यासपूर्ण अवस्था देखिएको छ ।

राजनीतिक वृत्तमा एकाएक उथलपुथल देखिएको दिन सेयर बजार पनि राताम्मे देखिएको छ ।

राजनीतिको यो उथलपुथलप्रति सेयरबजारले नकारात्मक प्रतिक्रिया देखाइसकेको छ । जसको फलस्वरुप करिब एकसय अंकले नेप्से घटेको छ भने सेयर बिक्री गर्नेको लर्को नै देखिएको छ । के अब राजनीतिको यो उथलपुथलका कारण अब बजारमा लामै असर गर्ला ? आगामी दिनमा बजारले यो परिवर्तनलाई कसरी प्रतिक्रिया जनाउला ?

राजनीतिसँग थोरबहुत सम्बन्ध रहेको सेयर बजार अब विकसित हुनसक्ने घटनाक्रमले खासै असर नगर्ने नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारको दाबी छ । बजारलाई कुनै असर नगर्ने जिकिर गरेका उनले क्षणिक असर परे तापनि दूरगामी प्रभाव नपर्ने बताए । अस्थिर राजनीतिको यो कठीन घडीमा लगानीकर्ताहरुलाई बलियोसँग होल्ड गर्न आग्रह गर्दैै उनले राम्रा राम्रा कम्पनी किन्ने राम्रो अवसर समेत आएको बताए ।

आजको राननीतिक घटना क्रमलाई सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल कुनै नौलो घटना नभएको र तात्विक असर पर्नै नसक्ने तर्क गर्छन् ।

'अप्रत्याशित भएतापनि आवेग मात्रै भएको उनको ठहर छ । राजनीतिक अस्थिरताले सेयर बजारमा ठूलो प्रतिक्रिया देखिँदैन ।' अर्यालले भने-'यो बेला लगानीकर्ताहरुको अलिअलि मनोबल गिर्नु चाहिँ स्वभाविक हो ।'

पछिल्लो राजनीतिक घटनाक्रमले सेयर बजारलाई असर गर्ने तर्क गर्दै लगानीकर्ता दबाब समूहका नेता हरि ढकाल यस्तो बेलामा कम्पनी र प्रतिफलबारे ध्यान दिनसक्नुपर्ने जिकिर गर्छन् । 'भुइँचालो जस्तो महाविपत्तिपछि त बजार सम्हालिएको थियो, यही कुरा लगानीकर्ताहरुले आफ्नो दिमागमा घुसाउनुपर्छ ।' उनी भन्छन् ।

राजनीतिक द्वन्द्व र सरकारको नीतिले जुनसुकै सेक्टरलाई नीतिगत असर पर्छ, तर लगानीकर्ता यस विषयमा हतोत्साही हुन आवश्यक नरहेको उनको भनाई छ । अत्यासपूर्ण अवस्था सेयर बजारमा निम्तिन नदिन लगानीकर्ता स्वयम् राम्रा कम्पनी र आफ्नो लगानीबारे सचेत हुन उनको आग्रह छ ।