 
                     
                                
                             
                                    काठमाण्डौ । राजनीतिक उथलपुथललाई सेयर बजारले रातो झण्डा देखाइदिएको छ । प्रधानमन्त्रीले संसद विघटनका लागि गरेको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गरेसँगै लगानीकर्ताको मनोबल कमजोर बन्दा बजारमा भारी अंकले पहिरो गएको हो ।
सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा ९७ अंक हाराहारीको भीषण पहिरो जाँदा सेयर बजार राताम्मे भएको छ । परिसूचकमा ठूलो पहिरो गएसँगै ९ अर्ब बढीको सेयर किनबेच भएको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि सिफारिस गरेपछि बजार सुरुको अवस्थादेखि नै नकारात्मक बनेको थियो । राष्ट्रपतिबाट प्रधानमन्त्रीको संसद विघटनसम्बन्धी प्रस्ताव अनुमोदन होला कि नहोला भन्ने द्विविधाले आज परिसूचकमा समेत निकै उत्तारचढावपूर्ण रहयो ।
अनपेक्षित रुपमा राजनीतिक कदमले सेयर बजारलाई सीधा प्रभाव पारी भारी अंकले बजारमा पहिरो गएको विश्लेषकहरुको भनाइ छ । ताजा जनादेशका लागि अब चुनावमा जाने तरखर हुँदै गर्दा अब बजार झन् अनिश्चित बन्ने विश्लेषकहरुको मत छ । राजनीतिक तरंगले लगानीकर्ताहरुको मनोबल गिर्ने र लगानीको वातावरण एकाएक खलबलिर्ने हुँदा अब आगामी दिनमा बजारले ओरालो यात्रा तय गर्ने उनीहरुको दाबी छ ।
बढ्दो बजारमा कारोबारीहरु सेयर धितोकर्जामा क्षमताभन्दा धेरै सेयर लगानी गर्दा बजार अप्रत्याशित घट्दै गए मार्जिन कल आउने त्राससमेत भएकाले आगामी दिन बजार सुखद नरहेको विश्लेषकहरुको जिकिर छ । राजनीतिक घटनाक्रम पनि धुमिल बन्दै जाँदा हाल अन्य सेक्टरबाट आएका व्यक्तिहरुसमेत सेयर बजारमा रहेको लगानी झिक्ने प्रवल सम्भावना रहेको विश्लेषकहरुको ठहर छ । यसैकारण समेत आगामी दिनमा बजार अझै घट्नसक्ने विश्लेषकहरु ठोकुवा छ ।
तीव्र गतिमा घटेको नेप्से उसमूहमा रहेका सबै १२ समूहमा रातो पोतिएको छ।
आज जीवन बीमा समूहमा सर्वाधिक ६६९.६१ अंकको गिरावट आएको छ। निर्जीवन बीमा समूह ५२९.९९ अंकले ओरालो लागेको यो दिन बैंकिङ समूह ४४.३३ अंक, व्यापार समूह ८६.४२ अंक, होटेल्स् समूह ५१.९७ अंक, विकास बैंक समूह ८०.९२ अंक, जलविद्युत् समूह ११०.४१ अंक, वित्त समूह २०.५३ अंक, उत्पादन तथा प्रशोधन समूह १४०.२४ अंक, अन्य समूह १३९.५१ अंक र म्युचुअल फन्ड समूह ०.११ ले घटेका छन् ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १९८ कम्पनीका १ करोड ४३ लाख १५ हजार ७९६ कित्ता सेयर ८ अर्ब ९० करोड ४७ लाख २२ हजार ९५४ रुपैयाँमा कारोबार भएको छ।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक १ अर्ब ६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ७८ करोड ९९ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ४७ करोड ७६ लाख रुपैयाँ, नबिल बैंकको ३९ करोड १८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३७ करोड ८२ लाख रुपैयाँ, नागरिक लगानी कोषको ३१ करोड रुपैयाँ, शिवम् सिमेन्ट्सको २८ करोड २८ लाख रुपैयाँ, एनसीसी बैंकको २५ करोड ९ लाख रुपैयाँ, नेपाल बैंकको १९ करोड ९० लाख रुपैयाँ र नेपाल टेलिकमको १७ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज युनाइटेड इदी–मर्दीको सेयरधनीहरु मालामाल भएका छन्। आजैबाट धितोपत्र बजारमा कारोबार सुरु गरेको यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट नै लागेको छ।
यो दिन सातवटा कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। सूर्योदय लघुवित्तको सेयरमूल्य १० प्रतिशत र नेरुडे लघुवित्त, स्वावलम्बन लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, अप्पर तामाकोशी, फवार्ड कम्युनिटी माइक्रोफाइनान्स र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा घटेर नेगेटिभ सर्किट लागेको हो। आज अन्य ६ घन्टाका सेयरमूल्य ९ प्रतिशत बढीले घटेका छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19