काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिनै १.५७ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

कम्पनीले आज असार २९ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २३ लाख ६६ हजार २४० कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको आईपीओमा बिक्री हुन बाँकी ३७ हजार ६२३ कित्ता सेयर पनि समावेश गरिएको छ। 

कम्पनीले कुल कित्ताको ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरेको छ भने ३ प्रतिशतले हुन आउने ७० हजार ९८८ कित्ता कर्मचारीका लागि छुट्याएको छ। बाँकी २१ लाख ७६ हजार ९४० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सीडीएससीका अनुसार यो आईपीओमा आज साँझ ५ बजेसम्म २ लाख ९७ हजार ३३९ आवेदकबाट कुल ३४ लाख ९ हजार ९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १.५७ गुणा बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाटै बाँडफाँड हुनेछ। जसमा भाग्यमानी २ लाख १७ हजार ६९४ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २१ लाख कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सकिनेछ। 

यो आईपीओको निष्कासन बन्द साउन १ गते हुनेछ। धितोपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।