काठमाण्डौ । अर्थतन्त्री जनार्दन शर्माले राष्ट्रिय सम्पत्तिको अडिट गर्ने बेला आएको बताएका छन्।

काठमाण्डौमा आज नेपाल चार्टड अकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित प्रथम लेखा व्यवसायी सम्मेलनमा अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन्। ‘गरिबी, व्यापार घाटा, उत्पादन, कृषि, आयात सबैको अडिट गर्ने बेला आएको छ’, उनले भने। ‘हिजो अडिटमा कतै समस्या छ किन भनेर खोज्दैछु’, शर्माले भने, ‘माइनसको ठाउँमा प्लस, प्लसको ठाउँमा भागा, भागाको ठाउँमा गुणन भयो भने के होला ? प्रभाव के पर्ला ? ठूलो चुनौती आउने र असर गर्ने महसुस गर्दैछु।’

श्रमिकको मूल्य कति हो भनेर अडिट गर्ने बेला आएको पनि शर्माले बताए। ‘हामीले आआफ्नो कर्तव्य र जिम्मेवारीको अडिट गरौँ’, उनले भने, ‘म अपिल गर्छु।’

अडिटमा समस्या देखिएमा अर्थतन्त्र र राज्य नै प्रभाव पार्ने अर्थमन्त्री शर्माको भनाइ थियो। ‘त्यसैले लेखा व्यवसाय अर्थतन्त्रको ऐना हो, लेखा व्यवसायले सबै कुरा अभिव्यक्त गर्छ’, उनले भने, ‘राम्रो लेखा परीक्षणले राम्रो निर्णय गर्न सहयोग गर्छ।’