काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा बैंकले ८५ करोड ९८ लाख खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा १ अर्ब २४ करोड रुपैयाँ थियो। यो हिसाबले कम्पनीको नाफामा ३१.०३ प्रतिशतले गिरावट आएको छ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। यो त्रैमासमा बैंकले १ अर्ब २१ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले घटी हो। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा बैंकले २ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब १८ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी २० प्रतिशतले घटी हो । 

बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर ३.६२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल २.४८ प्रतिशतमा सीमित थियो। 

खराब कर्जा मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्जका लागि २४ करोड १२ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज ३२ करोड ७ लाख रुपैयाँ थियो।

पहिलो त्रैमासमा बैंकले ३ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३७  अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ३खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो। 

चुक्तापूँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ४.४३ प्रतिशतले बढेर ३८ अर्ब २० करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ३६ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो। 

बैंकको प्रतिशेयर आम्दानी २१.९९ रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष प्रतिशेयर आम्दानी ३५.७६ रुपैयाँ थियो ।