काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले दिलीपकुमार ढुङ्गानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । उनले व्यवस्थापनमा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । उनले आजै पदबहाली समेत गरेका छन् ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको संस्थागत सुशासन तथा जोखिम व्यवस्थापनमा जोड दिंदै सरकार तथा राष्ट्र बैंकको नीति निर्देशनलाई अंगिकार गर्दै ग्राहकमुखी व्यवसाय बृद्धिमा बैंक लाग्नुपर्ने बताए ।
 

नवनियुक्त अध्यक्ष ढुङ्गानाले बैंकिङ क्षेत्रमा आफ्नो लामो अनुभवको भएको बताउँदै सदैव बैंकको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।
 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम तिम्सिना ढुङ्गानालगायतको उपस्थिति थियो ।