काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिन नै झन्डै ११ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।

संस्थाले आज फागुन ४ गतेबाट जारी पुँजी २६ करोडको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरिएको छ। 

संस्थाले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरेको छ भने ०.५ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ। बाँकी ७ लाख ९४ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

सीडीएससीका अनुसार आज साँझ ६ बजेसम्म यो आईपीओमा ७ लाख २८ हजार १९३ आवेदकबाट ८६ लाख ४८ हजार ४९० कित्ता माग भएको छ। जुन मागभन्दा १०.८८ गुणाले बढी हो।

पहिलो दिन नै यो आईपीओमा मागभन्दा बढी आवेदन परेको बाँडफाँड गोलाप्रथाबाट हुने निश्चित भएको छ। यो आईपीओमा फागुन ८ गतेसम्म आवेदन दिन पाइन्छ।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था छन्। आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ। 

राष्ट्र उत्थान लघुवित्तको यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो। आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।