 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आथिृक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांशमा भारी कटौती गरेको छ।
केन्द्रीय बैंकले हिजो वैशाख ४ गते संस्थालाई पत्र पठाउँदै उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको १७.९३४२ प्रतिशतले हुन आउने ४ करोड ५७ लाख ३२ हजार २१० रुपैयाँबराबरको लाभांश (नगद वा बोनस तथा कर प्रयोजनका लागिसमेत) वितरण गर्न स्वीकृति प्रदान गरेको हो। योसँगै यसअघि प्रस्ताव गरेको लाभांश ५५.७४५८ प्रतिशतले घटेको छ।
गत चैत ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापुँजी २५ करोड २५ लाख रुपैयाँमा उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट ७३.६८ प्रतिशतले हुन आउने १८ करोड ७८ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
प्रस्तावित लाभांशमा ५० प्रतिशतले हुन आउने १२ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर, २० प्रतिशतले हुन आउने ५ करोड १० लाख रुपैयाँबराबरको नगद लाभांश थिए। कर प्रयोजनार्थ ३.६८ प्रतिशतले हुन आउने ९३ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको रकम संस्थाले छुट्याएको थियो।
प्रस्तावित लाभांश संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो।
राष्ट्र बैंकले लाभांशमा कटौती गरेपछि नेष्डो समृद्ध लघुवित्त रुष्ट बनेको छ। राष्ट्र बैंकको यो निर्देशन आफैँले फागुन १० को परिपत्रसँग बाझिएको संस्थाले जनाएको छ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त एउटै प्रकृतिका संस्थाबीच एउटै आर्थिक वर्षको लाभांश स्वीकृति दिँदा समान नभएको र राष्ट्र बैंकको यो कदमले सेयरधनीहरुले पाउने प्रतिफलको अधिकरसमेत हनन भएको संस्थाले ठहर गरेको छ।
राष्ट्र बैंकको निर्देशनले संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको र लाभांश वितरण सम्बन्धमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा भएको व्यवस्थाको समेत प्रतिकूल भएको संस्थाले जनाएको छ। ‘त्यसैले राष्ट्र बैंकको उक्त निर्देशन तुरुन्त कार्यान्वयन प्रक्रियामा अगाडि बढाउन नसकिने जानकारी गराउँछौँ’, संस्थाद्वारा जारी सूचनामा भनिएको छ, ‘विगतका व्याख्या र संस्थागत अभ्याससमेतको तथ्यपूर्ण कानुनी व्याख्या गरी निर्णयमा पुग्नेछौँ।’

 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19