– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगानाले नेपाल राष्ट्र बैंकको सर्कुलरले सेयर बजार प्यानिक भए पुनर्विचार गरिनुपर्ने बताएका छन्। 

अध्यक्ष ढुंगानाले राष्ट्र बैंकको पछिल्लो सर्कुलरका विषयमा तत्काल प्रतिक्रिया जनाइहाल्नुपर्ने अवस्था नरहेको पनि बताए। ‘आज बजारको कारोबार र अवस्था हेरौँ’, उनले भने, ‘यदि उक्त सर्कुलरले बजार प्यानिक हुने अवस्था आए भने राष्ट्र बैंकले आफ्नो निर्देशनमा पुनर्विचार गर्नुपर्छ।’

राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशनका केही बुँदाहरु संसोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई सेयरको अल्पकालीन लगानी गर्न बन्देज लगाउने नीतिगत व्यवस्था गरिएको सार्वजनिक गरेको थियो । यस्तै, बैंकहरुलाई लघुवित्त कम्पनीको सेयरमा लगानी गर्न समेत अंकुश लाग्ने गरी नयाँ व्यवस्था ल्याइएको थियो।  

अध्यक्ष ढुंगानाले लागनीकर्ताले उठाउँदै आएको माग अल्पकालीन र दीर्घकालीन लगानीकर्ता छुट्टाएर करको व्यवस्था आगामी बजेटमा व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिइएको बताए। ‘म्युचुअल फन्डलाई आयकरमा छुट दिन तथा नयाँ स्टक एक्सचेन्जको आवश्यकता देखिएको पनि सुझाव दिएका छौँ’, उनले भने। 

अध्यक्ष ढुंगानाले कमोडिटी मार्केट तथा प्राइभेट इक्विटी भेन्चर क्यापिटल (पीईभीसी) का विषयमा पनि सुझाव दिइएको बताए। 

बैंकलाई ब्रोकर लाइसेन्स दिने तथा ब्रोकरका शाखा पनि विस्तार गर्ने विषयमा धितोपत्र बोर्ड सकारात्मक नै रहेको अध्यक्ष ढुंगानाले बताए। ‘अहिले कोरोनाका कारण अवस्था असहज छ’, उनले भने, ‘अवस्था सहज हुनेवित्तिकै यस विषयमा प्रक्रिया अगाडि बढाउने छौँ।’ 

गैरआवासीय नेपाल (एनआरएन) पुँजी बजारमा भित्र्याउने विषयमा पनि गृहकार्य भइरहेको ढुंगानाले जानकारी दिए।

त्यसैगरी ब्रोकरहरुले ल्याउने भनेको आफ्नै टीएमएसका विषयमा पनि प्रक्रिया चलिरहेको ढुंगानाले बताए। ‘ब्रोकरको नयाँ टीएमएसका लागि नेप्सेले एपीआई पोलिसी हामीलाई पठाएको थियो’, उनले भने, ‘त्यसमा केही कुरा करेक्सन गरेर ल्याउन भनेको छौँ, हामी सकभर छिटै यो विषयलाई टुंग्याउने पक्षमा छौँ।’