काठमाण्डौ । आम्दानीमा देखिएको तीव्र संकुचन, बढेको ब्याज खर्च तथा उसैगरी बढेको अन्य खर्चका कारण रिडी पावर कम्पनी लिमीटेडको नाफामा भीषण पहिरो गएको छ । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा यो कम्पनीका नाफामा टिठलाग्दो गिरावट देखिएको हो । 

समीक्षा अवधिमा यो कम्पनीको नाफा ४४ लाख ८९ हजार रुपैयाँमा सीमित बन्न पुगेको छ । यस्तो नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिमा ४८ करोड ३८ लाख ४० हजार ८८० रुपैयाँ रहेको थियो । 

कम्पनीले सञ्चालन गरिरहेको विभिन्न जलविद्युत कम्पनीबाट हुने आम्दानीमा गिरावट देखिएको छ । रिडीखोला जलविद्युत परियोजनाको विद्युत बिक्रीबाट हुने आम्दानी ४ करोड १० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४ करोड २३ लाख रुपैयाँ रहेको थियो । 

यस्तै, बुटवल सोलारबाट अघिल्लो वर्ष यही अवधिमा ६ करोड ५८ लाख रुपैयाँ आम्दानी भएकोमा यो वर्ष  ७ करोड १६ लाख आम्दानी भएको छ । 

इवाखोला जलविद्युत परियोजनाबाट समीक्षा अवधिमा १४ करोड ७६ लाख आम्दानी भएको छ । विद्युत बिक्रीबाट हुने यस्तो आम्दानी अघिल्लो त्रैमाससम्म भने १० करोड ७९ लाख रहेको थियो । 

रैरांग खोला परियोजनाले विद्युत बिक्रीबाट २९ लाख १८ हजार हाराहारीमा मात्र आम्दानी गरेको छ । 

लगानी तथा अन्य आम्दानीको रुपमा अघिल्लो वर्ष यही अवधिमा  ६० करोड ५१ लाख आर्जन गरेको कम्पनीले यस्तो आम्दानी समीक्षा अवधिमा भने  ६३ लाख ७० हजार मात्र गर्न सफल देखिएको छ । मुख्य गरी लगानी तथा अन्यबाट हुने आम्दानीमा देखिएको तीव्र गिरावटकै कारण नाफामा भीषण पहिरो गएको देखिन्छ । 

कम्पनीको विद्युत उत्पादनबापतको रोयल्टीतर्फको खर्च बढेर गएको छ । अघिल्लो वर्षको यही अवधिमा ८ लाख ४७ हजार रुपैयाँ रहेको यस्तो खर्च यो वर्षको तेश्रो त्रैमाससम्म भने  ३७ लाख ७२ हजार पुगेको छ । 

अघिल्लो वर्ष ६५ लाख १६ हजारमा सीमित प्रशासनिक खर्च बढेर यो वर्ष  २ करोड ८ लाख माथि पुगेको छ भने कम्पनीबाट सञ्चालित प्रोजेक्टहरुको सञ्चालन खर्च समेत बढेर गएको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म १ करोड ६८ लाखमा सीमित कुल सञ्चालन खर्च बढेर यो वर्ष  ४ करोड ९९ लाखको उचाईमा पुगेको छ । 

बुटवल सोलारले लिएको टर्मलोन, इवाखोलाको टर्म लोन र ओडी लोन लगायतका ब्याज खर्च उच्च हुँदा समेत आम्दानीमा असर परेको देखिन्छ । यहीकारण अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीको नन्अपरेटिङ एक्सपेन्सेस ५ करोड ८५ लाख रुपैयाँ रहेकोमा बढेर यो वर्ष  २० करोड ८५ लाख माथि पुगेको छ । 

कम्पनीको नाफामा पहिरो जाँदा वार्षिकीकृत प्रतिसेयर आम्दानी ३९ पैसामा सीमित बन्न पुगेको छ भने प्रतिसेयर नेटवर्थ १०५.७१ रुपैयाँ, मूल्य आम्दानी अनुपात(पीई रेसियो) ८०५.१२ गुणा र तरलता अनुपात १.०५ प्रतिशत रहेको छ । 

कम्पनीको चुक्तापूँजी १ अर्ब ५४ करोड रहेको कम्पनीको क्यापिटल रिजर्भ ६ करोड ६९ लाख रुपैयाँ रहेको छ भने रिजर्भ फण्ड २ करोड १५ लाख रुपैयाँको रहेको छ । अघिल्लो वर्ष यही अवधिमा रिजर्भ फण्डको आकार ४८ करोड ४१ लाखभन्दा ठूलो रहेको थियो ।