काठमाण्डौ । रिलायबल नेपाल लाइफको आईपीओमा अन्तिम दिनसम्म मागभन्दा १.६७ गुणा बढी आवेदन परेको छ। 

सीडीएससीका अनुसार बुधबार साँझ ५ बजेसम्म २७ हजार ९१३ जना आवेदकबाट २० लाख ११ हजार ८८० कित्ता आईपीओका लागि आवेदन परेको हो। कम्पनीले वैदेशिक रोजगारमा गएकाहरुका लागि कुल १२ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो। अन्तिम दिनसम्म कम्पनीको आइपीओमा ५१ करोड ७० लाख ५३ हजार १६० रुपैयाँ संकलन भएको छ। 

कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाहरुका लागि १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल २५७ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको थियो। मागभन्दा बढी आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ।

कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ।