काठमाण्डौ। हप्तौँदेखि जारी युक्रेन संकट अहिले झन्डै युद्ध हुने अवस्थामा पुगेको छ। अमेरिका, बेलायतजस्ता देशले भने युद्ध सुरु भइसकेको दाबी गर्छन्।

रुसको विदेश मन्त्रालयले रुसको उदाहरण पछ्याउँदै पूर्वी युक्रेनका दुई पृथकतावादी शासित क्षेत्र डोनेस्क र लुहान्स्कलाई मान्यता दिन विश्वका अन्य देशहरुलाई आग्रह गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पूर्वी युक्रेनको पृथकतावादी विद्रोही क्षेत्रलाई स्वतन्त्र क्षेत्रका रुपमा मान्यता दिएका थिए।

स्वघोषित जनवादी गणतन्त्र डोनेस्क र पूर्वी युक्रेनको लुहान्स्क रुसीसमर्थित विद्रोहीहरुको स्थल हो। यी विद्रोहीहरु सन् २०१४ देखि युक्रेनसँग लडिरहेका छन्।

यसअघि मंगलबार निकारागुआ र सिरियाले डोनेट्स्क र लुहान्स्कलाई मान्यता दिने रुसको निर्णयलाई समर्थन गरेका थिए। यद्यपि रुसले यी दुई क्षेत्रहरुलाई मान्यता दिए पनि अन्य देशले यसलाई मान्यता दिएका छैनन्। 

दक्षिण ओसेटिया अर्को रुससमर्थित छुट्टै क्षेत्र हो, जसले सन् २०१५ मा त्यहाँका शासकहरुलाई समर्थन दिएको थियो।

दक्षिण ओसेशिया जर्जियाको एउटा अलग्गै भाग हो। जुन रुसी सैन्यको हस्तक्षेपपछि २००८ मा स्वतन्त्र घोषित गरिएको थियो। यसले मस्कोका केही सहयोगीहरुबाट मान्यता प्राप्त गरेको छ।

अमेरिकालगायत पश्चिमा देशले रुसको निन्दा गरिरहेका बेला रुसी राष्ट्रपति पुटिनको समर्थनमा अहिले केही आवाजहरु सुनिन थालेका छन्।

क्युवाको कम्युनिष्ट सरकारले पश्चिमी देशहरुले युद्धको प्रचार फैलाएको र रुसलाई निशाना बनाएको आरोप लगाएको छ।

उत्तर कोरियाले यसअघि रुसको विषयमा अमेरिकामाथि आरोप लगाएको थियो। उत्तर कोरियाले यो महिनाको सुरुमा अमेरिकाले एक्लो पार्ने र कमजोर बनाउने शत्रूतापूर्ण नीति अपनाइरहेको बताएको थियो। उत्तर कोरियाले यस किसिमका गतिविधि अन्त्यका लागि आह्वान गरेको थियो।

इरानी मिडियाले पनि युक्रेन मुद्दामा मस्कोको कारबाहीप्रति सहानुभूति व्यक्त गरेका छन्। – एजेन्सी