काठमाण्डौ । रु रु जलविद्युत परियोजना लिमीटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । 

पुस १ गते आइतबारका दिन अपरान्ह ४ः३० बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १८ औं वार्षिक साधारणसभा गर्नेसहित लाभांश वितरण लगायतका विषयमा समेत निर्णय गरेको हो । 

बैठकले हाल कायम चुक्तापूँजीको कर प्रयोजनसहित १०.५२६३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ ।

पुस २५ गते बिहान १०ः३० बजे काठमाण्डौको नक्सालस्थित लिसरा रिसेप्सनमा आह्वान गरिएको साधारणसभामा लाभांशसम्बन्धी प्रस्ताव अनुमोदनका लागि पेश हुनेछ । 

साधारणसभा प्रयोजनका लागि पुस १७ गते मंगलबारका दिन कम्पनीको सेयरधनी दर्ता किताब बन्द रहने निर्णय समेत गरिएको छ ।

यसको अर्थ यो कम्पनीबाट घोषित लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पुस १६ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।