काठमाण्डौ । ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सेयर किन्ने घोषणा गरेका त्रिशुली जलविद्युत कम्पनी लिमीटेडले ३७ लाख ५ हजार कित्ता आइपीओ आज(चैत ७ गते)देखि निश्कासन गरेको छ ।
इच्छुक लगानीकर्ताले छिटोमा चैत ११ भित्र र ढिलोमा बैशाख ६ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
हाललाई दरखास्तका साथ प्रतिसेयर रु. १० को दरले(अंकित मूल्यको दश प्रतिशत)ले हुने रकम भुक्तानीका लागि अग्रिम माग गरिएको छ । यसको अर्थ प्रतिसेयरका लागि रु. १० रुपैयाँ बैना गरी प्रतिकित्ता १०० रुपैयाँको सेयर बुक गर्न सकिन्छ । ती सेयर बापत चुक्ता हुन बाँकी रकम आयोजनाको निर्माण कार्य ५० प्रतिशत पूरा भएपछि माग गरिनेछ ।
इच्छुकले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । यसको अर्थ साथमा रु. एकहजार रुपैयाँ हुनेले समेत १०० कित्ता सेयरका लागि बैना गर्न सक्नेछन् ।
आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ । सीआस्वा सेवा संचालनको अनुमति पाएका बित्तीय संस्था र तिनका शाखा वा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको लगानीबाट बनाइने भनिएको १९ आयोजनामध्ये सर्वसाधारणमा सेयर निश्कासन गर्न लागेको पहिलो आयोजनाको पहिलो सेयर आफूले किन्ने बताएका थिए । यस हिसाबले यो कम्पनीको सेयर किन्ने पहिलो आवेदकको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले आवेदन दिनेछन् । यसका लागि उनले दुईवटा डिम्याट खाता समेत खोलिसकेका छन् ।
यो कम्पनीले नुवाकोट तथा रसुवा जिल्लामा रहेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि वि हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ।
आयोजनाले दोस्रो पटक सार्वजनिक शेयर निष्काशन नहुँदासम्म अग्रिम रुपमा गरिएको लगानीको प्रचलित ब्याज रकम बराबरको बोनस शेयर समेत दिने बताइएको छ।
त्रिशुली जलविद्युत कम्पनी लिमीटेड सन् २०११ मा स्थापित एक पब्लिक कम्पनी हो ।
यो कम्पनी नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसंचार कम्पनी लिमीबाट संयुक्त रुपमा प्रवद्र्धित हो ।
यो आयोजनाको निर्माण लागत ८ अर्ब २२ करोड हुने अनुमान गरिएको छ ।
कुल लागतमा नवील बैंक, एचआइडिसिएल र नेपाल बैंकले कन्सोर्टियम मोडलमा ७० प्रतिशतले हुन आउने ५ अर्ब ७६ करोड लगानीको प्रतिबद्धता जनाइसकेका छन् ।
यो कम्पनीमा विद्युत प्राधिकरणको ३० प्रतिशत, नेपाल टेलिकमको ३० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, नूवाकोट र रसुवाका आयोजना प्रभावितको १० प्रतिशत, विद्युत प्राधिकरण र नेपाल टेलिकमका कर्मृचारीका लागि ५ प्रतिशत, रसुवा र नूवाकोटका फाइनान्सियल इन्स्टिच्यूटको ५ प्रतिशत सेयर स्वामित्व रहनेछ ।
कम्पनीको जारी पूँजी २ अर्ब ४७ करोड रहेको छ । जारीपूँजीको १५ प्रतिशत सेयर सर्वसाधारणका लागि निश्कासन हुने भएको हो । कुल निश्कासित ३७ लाख ५ हजार कित्तामध्ये ३ प्रतिशतले हुन आउने १ लाख ११ हजार १५० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३५ लाख ९३ हजार ८५० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।
अरु व्यवस्था के छ ?
जनताको जलविद्युत कार्यक्रम अन्तर्गतका जलविद्युत कम्पनीले शेयरको सार्वजनिक निष्काशन गर्दा त्यस्तो शेयर खरिद गर्न चाहने आवेदकले आवेदनका साथ शेयरको चुक्तामूल्यको दश प्रतिशत रकम दाखिल गर्नुपर्ने गरी आवेदन माग गर्न सक्ने छन् ।
त्यसरी आवेदन गर्ने आवेदकलाई शेयर बाँडफाँट हुने भएमा कम्पनीको दश प्रतिशत चुक्ता भएको शेयर प्रदान गरिने र उक्त शेयरधनीलाई कम्पनीले नेपाल सरकारले निर्धारण गरेको वार्षिक प्रतिफल प्रदान गर्न सक्नेछ भने यस्तो प्रतिफल शेयरको चुक्ता हुन बाँकी रकममा मिलान गर्न सकिने व्यवस्था समेत गरिएको बोर्डले जनाएको छ ।
यस्ता आयोजनाका संस्थापकहरुले लिन कबूल गरेको शेयरको शतप्रतिशत रकम भुक्तानी भई आयोजनाको निर्माणको न्यूनतम पचास प्रतिशत भौतिक प्रगति भएपछि कम्पनीले शेयरधनीसँग चुक्ता हुन बाँकी रकम माग गर्नसक्ने र रकम प्राप्त भएपछि निष्काशित शेयरको चुक्ता रकम शतप्रतिशत गरी सम्बन्धित शेयरधनीलाई शेयर जारी गरिने व्यवस्था गरिएको छ ।
शेयरको रकम शतप्रतिशत चुक्ता भए पश्चात त्यस्तो शेयर धितोपत्रको दोश्रो बजारमा कारोबार हुनसक्ने व्यवस्था समेत गरिएको छ ।
शेयरको चुक्ता हुन बाँकी सम्पूर्ण रकम प्राप्त नभएमा कम्पनीले त्यसरी चुक्ता हुन बाँकी रकम बराबरको शेयर अन्य इच्छुक खरिदकर्तालाई एक महिनाको समय अवधि दिई सार्वजनिक सूचना जारी गरी बिक्री गर्न सक्नेछ । तर, सो सम्पूर्ण शेयर बिक्री हुन नसकेमा बिक्री हुन बाँकी रहेको शेयर संस्थापक शेयरधनी वा नेपाल सरकारको नाममा रहनेछ । यहीकारण यो कम्पनीको आइपीओमा कसैले पनि अण्डरराइट गरेका छैनन् ।
विशेष योजना अन्तर्गत सेयर निश्कासन गर्ने योसहित १९ कम्पनीले क्रेडिट रेटिङ समेत गर्न नपर्ने सुविधा पाएका छन् । यसर्थ कम्पनीको अवस्थाको विषयमा राम्रोसँग अध्ययन गरेर मात्र लगानी गर्नु उपयुक्त हुनेछ ।
आयोजना प्रभावितले ध्यान दिनुपर्ने
यसैबीच, यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आयोजना प्रभावितले सेयर खरीदका लागि आवेदन दिंदा विशेष ध्यान दिनुपर्नेछ ।
कम्पनीले आयोजना प्रभावित नूवाकोट र रसुवाबासीका लागि १० प्रतिशत सेयर छुट्याएको छ । यो सेयर सर्वसाधारणपछि आयोजना प्रभावितका लागि निश्कासन हुनेछ ।
नूवाकोट र रसुवाबासीले आजदेखि निश्कासन भएको सेयर समेत भर्न सक्छन् । तर, उनीहरुले आयोजना प्रभावितका लागि सेयरको दरखास्त आह्वान भएको बेला भने दोहोर्याएर आवेदन दिन पाउने छैनन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago