– अर्जुन तिमिल्सिना

काठमाण्डौ । संसारमा पैसा तथा सम्पत्ति कमाउने धेरै तरिका छन्। त्यसमा पहिले हो– आफैँले काम गर्ने अर्थात श्रमको माध्यमबाट। दोस्रो हो– पैसालाई काममा लगाउने। 

आफूले काम गर्ने तथा पैसालाई काममा लगाउने वा दुवै गर्ने भन्ने  व्यक्तिको इच्छा, आवश्यकता र ज्ञानमा भर पर्ने कुरा हो। संसारमा काममात्रै गरेर मनग्य आम्दानी पनि हुन नसक्ला र कामै नगरेर पनि हुँदैन। 

श्रम कति गर्ने र श्रमबाट आएको पारिश्रमिकलाई बचत गरेर सयौँ गुना कसरी बनाउने भन्ने कुरा महत्वपूर्ण हो। 

सेयर बजार एउटा यस्तो ठाउँ हो, जहाँ ससाना पुँजीलाई जम्मा गरेर ठूलठूला कम्पनी चलेका हुन्छन्। व्यक्तिले पनि लगानी गरेको सानो पुँजी भविष्यमा गएर निकै ठूलो र मनग्य अम्दानी हुने स्रोत बनिदिन्छ। अझ सेयर बजारको राम्रो पक्ष भनेको मानिसलाई बचत गर्ने र फजुल खर्च गर्ने बानीबाट टाढै  राख्छ। 

एउटा बाँस अथवा निगालो जम्मा एउटा टुसाबाट केही वर्षमा हरेक वर्ष पलाउने नयाँ टुसाबाट झाँगिएर एउटा ठूलो घारीको रुप लिन्छ। त्यसैगरी सेयरबजारमा गरिएको आजको सानो लगानी पनि भविष्यमा ठूलो हुन्छ। यहाँ पनि हरेक वर्ष कम्पनीहरुले नगद तथा बोनस अनि हकप्रद दिएका हुन्छन। कम्पनीले दिएको नगदबाट घरव्यवहार पनि चलेको हुन्छ। अझै चाडपर्वअघि दिएको नगदले दसैँतिहार मनाउने चलन पनि भेटिन्छ। यसरी हेर्दा सेयर बजार एउटा जीविकोपार्जनको राम्रो माध्यम पनि बनेको छ। 

यसै सिलसिलामा आज हामीले  अर्थशास्त्रमा विद्यावारिधि गरेका सेयर बजार तथा अर्थतन्त्रबारे जानकार डा मीनबहादुर क्षेत्रीको अनुभव प्रस्तुत गरेका छौँ। सेयरबजारमा आबद्ध साना तथा ठूला लगानीकर्तालाई क्षेत्रीको अनुभवबाट केही ज्ञान मिल्नेछ भन्ने हामीलाई लागेको छ। 

डा क्षेत्रीसँग सेयरबजारमा धेरै राम्रा र रमाइला अनुभव छन्। २०५० सालमा अर्थात २७ वर्ष पहिले हिमालयन बैंकको जम्मा १०० रुपैयाँका दर किनेको २५ कित्ता सेयर अहिले १७५८ कित्ता भएको छ। अहिलेको बजारमूल्य करिब १० लाख रुपैयाँ हुन्छ। त्यो अझ बढि हुने थियो तर एकपटक म विदेशमा भएको बेला करिब ३०० कित्ता करिब १ लाख ५० हजार रुपैयाँबराबरको यो बैंकको हकप्रद भर्न पाइएन’, उनले हास्दै भने, ‘यो थकथक लाग्ने घटना भएको छ मेरो !’

यसैगरी डा क्षेत्रीसँग तीतो अनुभव पनि छन्। ‘सबैमा यसरी फाइदा कहाँ हुन्छ र रु’, सेयरको सर्टिफिकेट देखाउँदै उनले भने, ‘२०५१ सालतिर हरिसिद्धि इँट्टा टायल कारखानाको रु. १० का दरले किनेको ८०० कित्ता सेयरमा तीन जनाको नाममा आठ हजार रुपैयाँ लगानी गरेको थिएँ, अहिले यो कारखानाको अत्तोपत्तो छैन।’

उक्त कारखानामा उत्पादित इँटाबाटै डा क्षेत्रीले घर बनाएका रहेछन्। ‘त्यो बेलाको आठ हजार रुपैयाँ निकै ठूलो रकम हो’, उनले भने, ‘यसको पहिला बागबजारमा अफिस थियो। २०४८ सालतिर निजीकरण हुँदा बाँसबारी छाला जुत्ता कारखाना, बुटवलको धागो कारखानासँगै यो कारखाना पनि पर्यो। अहिले मसँग सर्टिफिकेटमात्रै छ, यस्तो पनि हुन्छ।’

डा क्षेत्रीले प्राथमिक बजारबाट अरु कम्पनीका सेयर पनि जम्मा गरेका छन्। बैंक अफ काठमाण्डू, नेपाल क्रेडिट एन्ड कर्मस बैंक, अप्पर तामाकोशी, तारागाउँ रिजेन्सी होटेल, नेपाल पुनर्बीमा कम्पनीलगायत करिब ३० लाख रुपैयाँबराबरको आईपीओ रहेको क्षेत्रीले सुनाए। त्यसो त क्षेत्री दोस्रो बजारमा प्रवेश पनि गरिसकेका छन्। करिब ६ महिना पहिले नागरिक लगानी कोषको सेयर २ हजार ५०० रुपैयाँमा किनेको अहिले ८२ प्रतिशत हकप्रद भरेर पनि आज ४ हजार १०० रुपैयाँ मूल्य छ। ‘दोस्रो बजारमा पनि राम्रै नाफा भएको छ’, उनले भने, ‘बैंकहरुमा नबिल बैंक, मुक्तिनाथ विकास बैंक, ग्लोबल आईएमईको सेयर पनि किनेको छु।’

अझै रोचक कुरा के भने डा क्षेत्रीले अहिलेसम्म कुनै पनि कम्पनीको सेयर बेचेका रहेनछन्। 'यी सबै सेयर मैले मेरो घर जग्गा बहाल, कन्सल्ट्यान्सी फी, पेन्सन तथा विदेशमा कार्यशाला गोष्ठी, सभा, सम्मेलन, तालिम आदिका लागि जाँदा प्राप्त भत्ताबाट बचत भएको रकमबाट किनेको हुँ, अहिले नै खासै सेयर बेच्नुपर्ने अवस्था छैन' उनले भने ।