काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले विदेशमा बसेर काम गरिरहेका नेपालीमा आईपीओमा कोटा छुट्याइने संकेत गरेका छन्।

दुई दर्जनभन्दा बढी राजदूत, कार्यबाहक राजदूत, महावाणिज्यदूतलगायत विभिन्न देशका नियोग प्रमुखहरुसँग आइतबार भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले यस्तो संकेत गरेका हुन्। 

चैत महिनामा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी दिँदै मन्त्री शर्माले यतिमा मात्रै सन्तुष्ट नभई अझै वृद्धि गर्न सकिने खाँचो रहेको बताए। ‘रेमिट्यान्स बढाउनका लागि विभिन्न प्याकेज ल्याउन लागेका छौँ। रेमिट गर्नेहरुलाई आईपीओ र एफपीओमा निश्चित प्रतिशत नै छुट्याएर लगानी गर्न दिनेसम्मका गृहकार्य भएका छन्’ उनले भने। 

शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवर्द्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन विदेशस्थित नियोग प्रमुखहरुलाई निर्देशन पनि दिए। ‘हामीलाई यतिबेला विदेशी मुद्राको सञ्चिती बढाउनुपर्ने दबाब छ। यसका लागि तपाइँहरुले विशेष भूमिका खेल्नुपर्छ’, उनले भने, ‘रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुहोस्। नेपाल कोभिड १९ बाट तंग्रिसकेको सन्देश दिँदै पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम गरी धेरैभन्दा धेरै पर्यटक नेपाल आउने वातावरण सिर्जना गर्नुहोस्।’

आगामी आबको बजेट निर्माणका लागि सुझाव लिन नियोग प्रमुखहरुसँग छलफल भएको थियो। छलफल परराष्ट्र मन्त्रालयमा गरिएको थियो।

त्यसक्रममा अर्थमन्त्री शर्माले लगानी सम्मेलनहरु आयोजना गरी नेपालमा विदेशी लगानी बढाउने वातावरण सृजना गर्नुपर्ने पनि बताउनुभयो। ‘हामीले अलि ठूला परियोजना बनाउँदामात्रै ऋण लिने र यस्तो ऋण सम्बन्धित परियोजनाले नै तिर्नक्ने किसिमले लिने गरी मोडालिटी बनाउँदैछौँ’, उनले भने, ‘गैरआवासीय नेपालीलाई पनि डलरमा खाता खोल्न धेरै सहज बनाइसकेका छौँ।’

त्यस्तै कुन देशमा कस्तो वस्तुको माग रहेको र नेपालमा त्यसको उत्पादन हुन सक्ने भए सुझाव दिन पनि शर्माले आग्रह गरे। ‘हामी उत्पादन वृद्धि गरी निर्यात बढाउन खोजिरहेका छौँ। यसका लागि कुन देशमा के बस्तुको माग छ भन्न्ने कुरा तपाईहरुले सुझाव दिनुहोस्’, उनले भने, ‘त्यसपछि सोहीअनुसारको बस्तु निर्यात गर्नका लागि यहाँ तयारी गरिनेछ।’ 

अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्र दबाबमा रहेको र यसलाई विस्तारै सुधार गर्ने दिशामा सरकार अघि बढेको बताए। 

कार्यक्रममा कायममुकायम गर्भनर निलम ढुंगाना तिम्सिनाले अर्थतन्त्र दबाबमा भएकाले सबै मिलेर सुधार गर्नुपर्ने खाँचो रहेको औँल्याइन्।