काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैशाख ३१ गते(आज)देखि आइपीओ निश्कासन गरेको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता, आफ्ना कर्मचारी तथा म्युचुअल फण्डहरुका लागि समेत गरी ८ लाख ४० हजार कित्ता आइपीओ अंकित मूल्य १०० रुपैयाँमा निश्कासन गरेको हो । 

स्वीकृत कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ३३ हजार ६ सय रैराङका कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ४२ हजार कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी ९१ प्रतिशतले हुन आउने ७ लाख ६४ हजार ४ सय कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।  

कम्पनीले न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार २ सय कित्तासम्मका लागि खरीद गर्न सकिने बताएको छ । 

बैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म कम्पनीको आइपीओ बिक्री खुल्ला हुनेछ । यो अवधिसम्म पनि मागअनुसार आवेदन नपरे जेठ २९ गतेलाई अधिकतम मिति तोकिएको छ ।

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमीटेडले गर्नेछ । 

यो जलविद्युत कम्पनीले गत जेठमा आयोजनास्थल पाँचथर र ताप्लेजुङका सर्वसाधारणका लागि ५  करोड ६० लाख रुपैयाँको आइपीओ बिक्री गरेको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि दोश्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निश्कासन हुन लागेको हो । 

हाल कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ रहेको छ । कम्पनीमा  संस्थापक सेयरधनीको स्वामित्व ७५ प्रतिशत रहेकोमा त्यसलाई घटाउन आइपीओ जारी गरिएको हो ।

रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ । यो आयोजनामा २५ प्रतिशत सेयर स्वामित्व रिडी हाइड्रोपावरको रहेको छ ।